स्पेनका राजाद्वारा पैत्रिक सम्पत्ति नलिने घोषणा

डिसी नेपाल
३ चैत २०७६ २१:२६

मड्रिड (एजेन्सी) । स्पेनका राजा फेलीपे षष्टमले विभिन्न विवादमा परेका आफ्ना पिता ख्वान कार्लोसबाट प्राप्त हुने पैत्रिक सम्पत्ति नलिने घोषणा गरेका छन् । राजदरबारले एउटा विज्ञप्तिमा सन् २०१४ मा गद्दी परित्याग गरेका ख्वान कार्लोसले पाउँदै आएको भत्ता रोकिएको उल्लेख छ । उनले वर्षेनि एक लाख ९४ हजार यूरो भत्ता पाउँथे ।

आफ्नो भड्किलो जीवनशैलीका कारण ८२ वर्षीय पूर्वराजा आलोचित भएको बेला त्यस्तो निर्णय आएको छ । झन्डै चार दशक शासन गरेका ख्वान कार्लोसको गतिविधिबारे आर्थिक निकायका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि उनले सन् २००८ मा विदेशी खातामार्फत् साउदी अरबबाट १० करोड डलर प्राप्त गरेको समाचार सार्वजनिक भएको थियो । यस विषयमा पूर्वराजाले कुनै प्रतिक्रिया दिएका छैनन् । स्पेनका शाही मामिलाका केही विश्लेषकहरूका बुझाइमा बुवाको पैत्रिक सम्पत्ति परित्यागको घोषणा गरेर ५२ वर्षीय राजा फेलिपेले आफ्ना बुवासँग सम्बन्धी मुद्दाबाट आफू टाढा बस्ने प्रयास गरेका हुन् ।

दक्षिणपन्थी तानाशाह फ्रान्सिस्को फ्रान्कोको सन् १९७५ मा निधन भएपछि ख्वान कार्लोसले गद्दी आरोहण गरेका थिए । स्पेनको गृहयुद्धमा रिपब्लिकन फौजलाई हराएपछि जनरल फ्रान्कोले ३६ वर्ष शासन गरे । चवालीस वर्षपछि ख्वान कार्लोस राजमुकुट लगाउने स्पेनका प्रथम राष्ट्रप्रमुख बन्न पुगे । तर लगत्तै उनले निरंकुश शासनको विस्तार चाहने फ्रान्कोका समर्थकलाई उपेक्षा गर्दै संसदीय राजतन्त्रको नयाँ प्रणालीमा देशलाई प्रवेश गराए । समयक्रमसँगै उनी दैनिक राजनीतिमा कम संलग्न हुन थाले र नाममा मात्र सीमित शासक बन्न पुगे । उनलाई क्याटलोनिया र बास्क क्षेत्रजस्ता स्वतन्त्रताकामी क्षेत्रमा स्थिरता कायम गरेको श्रेय पनि दिइन्छ । उनले सन् १९८१ मा सत्तापलटको प्रयास निस्तेज पार्न पनि सघाएका थिए । राजगद्दी त्याग्नुभन्दा केही वर्ष अघिसम्म उनको लोकप्रियता उच्च थियो ।

सन् २०१२ मा हात्तीको सिकार गर्न बोत्स्वानाको यात्रा र उनकी कान्छी छोरी क्रिस्टिना र ज्वाइँ इन्याकी उर्दान्गरिन भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका कारण उनले पदत्याग गर्नुपर्ने स्थिति उत्पन्न भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.