समस्यामा परेकालाई सहयोग गर्न तयार छौं : एनआरएनए जर्मनी
जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले कोरोना माहामारीको सामना गर्न एकजुट भएर लाग्न सबै नेपाली समुदायमा आह्वान गरेको छ । अध्यक्ष हरि न्यौपानेले एक विज्ञप्ति जारी गर्दैै यो जटिल परिस्थितिमा ‘नेपालीका लागि नेपाली’ भन्ने नारा चरितार्थ गर्न एकजुट भइ सकेको जिम्मेवारी निर्वाह गर्न सबैलाई अनुरोध गरेका छन् ।
विज्ञप्तिमा आ–आफ्नो क्षेत्रमा र सम्पर्कमा रहनुहुने नेपालीहरुका समस्याहरु, त्यसमा पनि भाषाका समस्या, वैधानिकताको समस्या,दैनिक उपभोग्य वस्तुको समस्याको खोजी गर्दै तत्काललाई यस्ता विषयहरुको निराकरणार्थ अपनाउन सकिने उपायहरुका लागि सामूहिक रुपमा अघि बढ्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अघि भनिएको छ, ‘ओभर स्टे बस्नेहरुको सम्बन्धमा, सिमित आम्दानीमा पठनपाठन गर्दै रहेका विद्यार्थीहरु र दैनिक ज्यालामा जीवनयापन गर्ने हरुको सम्बन्धमा, भाषागत रुपमा निपुर्णता नहुनेहरुको सम्बन्धमा, बसाइको क्रममा आफ्नो भिसा बिना बसोबास गर्नेहरू जो नेपाली दूतावासको सम्पर्कमा जान नसकेको स्थिति रहेकाहरुको लगायत अन्य विविध विषयहरुको सम्बन्धमा संघले समाधानको लागि पहलकदमी लिनेछ । समस्यामा परेकाहरुको पहिचान गरी समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने छ ।’
विद्यार्थीहरूको सवालमा एनआरएनएको विद्यार्थी प्रतिनिधि मार्फत सहयोगको आवश्यकता पर्नेहरुको विवरण तयार पारेर अघि बढिने जनाइएकाे छ । आवश्यक कागजी प्रक्रियाका सवालमा र स्वास्थ्यसम्बन्धी व्याख्या विश्लेषण गर्न असमर्थ हुनेहरुको लागि नजिकबाट पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । गैर कानुनी बसोबास भएकाहरुको सवालमा आवश्यक कागजातको पहल गरि दिदै सहजकर्ताको भुमिकामा रहने बताइएकाे छ।
नेपाली समुदायबीच डिजिटल सम्पर्कमा रहन आग्रह गर्दै एनआरएनए जर्मनीले खाद्य पदार्थको लागि किनमेलमा जान नसकेको स्थितिमा कसरी ढुवानी वा उपलब्ध गराउने व्यवस्थाको लागि पनि पहल गरिने जनाइएको छ ।
विद्यार्थी लगायत सम्पूर्ण नेपाली समुदाय जो समस्यामा रहेका छन, सबैलाई स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको दोहोरो सम्पर्कमा आउन अपिल गदैै अध्यक्ष न्यौपानेले आफू सक्रियताका साथ हातमा हात, साथमा साथ दिएर आफ्नो भूमिका अनुसार काम गर्न प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।







डिसी नेपाल








Facebook Comment