काठमाडौंबाट १०० को गतिमा महेन्द्रनगर गइरहेको बसका ड्राइभर बेहोस भएपछि…

डिसी नेपाल
९ चैत २०७६ ९:०६

काठमाडौं। शनिबार बेलुकी काठमाडौंबाट महेन्द्रनगरको लागि हिँडेको सुपप्र ०२००१ ख ९४५ नम्बरको बस बाँकेको कोहलपुर पुग्नै लाग्दा भयानक दुर्घटनाबाट जोगियो । ५० जना यात्रु बोकेर हिँडेको बस त्यतिबेला झण्डै सय किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरहेको थियो । कोहलपुर पुग्न करिब ४ किलोमिटर बाँकी रहँदा अचानक बस चलाइरहेका चालक धिरेन्द्र भट्ट बेहोस भए ।

बसले आफ्नो लेन छाडेर अर्कोतर्फको लेन समेत पार गर्दै सडकबाट बाहिर पुगिसकेको थियो । पवनदूत यातायातको बसको पछाडिको एउटा टायर मात्र सडकमा रहेको र अन्य सबै पाङग्राहरु सडकबाहिर पुगिसकेको बसमा सवार यात्रु नरेश बोहराले बताए । सडकबाट बाहिर गइसकेको बस सहचालक सुशील बिष्टको तत्कालको होसियारीपछि मात्र जोगिएको उनले बताए ।

‘बस सडकबाहिर गइसकेको थियो । सहचालकले तत्कालै ब्रेक नलगाएको भए ठूलो दुर्घटना हुन सक्थ्यो’ उनले भने । सहचालकको होसियारीले बस जोगिएपछि ती बेहोस भएका चालकलाई तत्कालै कोहलपुर अस्पताल लगियो । अस्पतालमा जाँचपछि डाक्टरले ती चालक कमजोरी र निद्रा नपुगेका कारण अचेत भएको बताएको बोहराले जानकारी दिए । बसमा दुई चालक थिए । बसका मुख्य चालक दीपक रावल पनि बसमै थिए । भट्ट बेहोस भएपछि अर्का चालक रावलले बस महेन्द्रनगर पुर्याएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.