लकडाउनमा थप कडाईः उपत्यकामा एकै दिन ५ सय ४५ सवारी नियन्त्रणमा

डिसी नेपाल
२५ चैत २०७६ १९:१६

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं विना काम सवारी चलाईरहनु त भएको छैन?  यदि छ भने तपाईं ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ।

अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उलङ्घन गर्ने ५ सय १० वटा दुई पाङ्ग्रे र ३५ वटा चार पाङ्ग्रे गरी जम्मा ५ सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। बिहान ६ बजेदेखी दिउँसो चार बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।

कोरोना भाईरसकाे विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित वेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने ५ हजार १ सय ९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

पाससम्बन्धी नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्धारा विभिन्न मितिमा जारी भएको ७ (सात) दिने पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने कुरा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस महाशाखालाई पत्राचार गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । उनले भने( “अन्य १ दिने, ३ दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिवाट खारेज भएको छ ।”

पास भएकालाई पनि विशेष निगरानी

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी श्रेष्ठले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.