राज्यमन्त्रीद्वयबाट क्वारेन्टाइनको अनुगमन र सहजीकरण
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर निर्माण भएका क्वारेन्टाइनका अवस्थाबारे अनुगमन र आवश्यक समन्वयको काम थालिएको जनाएका छन् । गत साता बसेको मन्त्रिपरिषद् बैठकले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्वीकृत गर्दै राज्यमन्त्री मानन्धर र स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई अनुगमन तथा सहजीकरणको जिम्मेवारी दिएको थियो ।
शहरी मन्त्रालयको मन्त्रिस्तरीय बैठकले मन्त्रालयका सहसचिव नवराज प्याकुरेल र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख सहसचिव कुमारप्रसाद घिमिरेलाई राज्यमन्त्रीको टोलीमा खटाएको छ । यही चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग र समन्वयका लागि राज्यमन्त्रीसँगको टोलीमा दुई सहसचिवलाई खटाएको थियो ।
मन्त्रालयले दुई सहसचिव पठाएसँगै राज्यमन्त्रीले देशभरका क्वारेन्टाइनको मापदण्ड (२०७६) अनुसार कार्यान्वयनको व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख (कामपासमेत) र प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग शुक्रबार छलफल गर्ने छन् । राज्यमन्त्री मानन्धरले ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमार्फत बनेका क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन चुस्त बनाउन आग्रह गर्दै आवश्यक अनुगमनको तयारी भइरहेको जानकारी दिए।
मापदण्डअनुसार अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक सम्बन्धित पालिका प्रमुख र प्रजिअ, सुरक्षा निकायका प्रमुख सदस्य तथा स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहने छन् । सल्लाहकार समूहमा संघीय संसद् र प्रदेशसभाका सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख पनि रहने व्यवस्था गरिएको छ ।







डिसी नेपाल








Facebook Comment