कोरोनाको त्रास र एसईई परीक्षाको तनावमा विद्यार्थी
फाइल फाेटाे
काठमाडौं। विश्वलाई आफ्नो चपेटामा लिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले एसईईलगायतका सबै परीक्षा स्थगित गरेको छ। एसईई सुरू हुनु एक दिन अगाडि स्थगित गरिएको परीक्षा लकडाउने तेस्रो हप्तामा चल्दैगर्दा कहिले हुने निश्चित छैन।
महामारीको रूपमा फैलिएकोे कोरोनाको उच्च जोखिमबाट बच्न भन्दै चैत्र ६ गतेबाट सुरू हुने एसईई परीक्षामा रोक लगाइएको थियो।
परीक्षाको तयारी बसेका विद्यार्थीहू भने आफूहरूलाई कोरोनाभाइरस भन्दा पनि एसईई परीक्षको चिन्ता लागेको बताउँछन्। अभिभावकलाई पनि कतै आफ्नो बालबालिकाको भविष्यमा असर पर्ने त होइन भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।
काठमाडौं विद्यामन्दिरबाट एसईई परीक्षा दिने तयारीमा रहेकी सजिना दाहालकी अभिभावक कोपिला दाहाल एसईई परीक्षा कहिले हुने भन्ने अन्यौलले आफूलाई चिन्ता लागेको बताउँछिन्।
‘नानीले निकै मेहतन गरेर परीक्षाको तयारी गरेकी थिइन्, परीक्षा हुने एक दिन अगाडि सरकारले परीक्षा स्थगित गर्यो,’ उनले भनिन्, ‘हामीलाई त कोरोनाको त्रासभन्दा पनि परीक्षा कहिले हुने हो भन्ने चिन्ताले पो सताइरहेको छ।’
त्यसो त सरकारले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर एसईईलगायत कक्षा ११ र १२ तथा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा पनि स्थगित गरेको छ। अहिले मुलुक लकडाउनमा छ। तत्काल लकडाउन खुल्ने संभावनवा पनि देखिँदैन।
विश्वस्वास्थ्य संगठनले समेत अहिले नै लकडाउन खुकुलो बनाए कोरोनाभाइरस झन फैलिनसक्ने चेतावनी दिएको छ।
लकडाउन लम्बिँदै जाँदा एसईई परीक्षा दिने तयारीमा बसेका विद्यार्थीमा भने चिन्ता थपिँदै गएको छ।
नुवाकोटको श्री महादेव उच्च माद्यामिक विद्यालयबाट एसईई परीक्षा दिन तयार रवि रिमाल भन्छ्न् ‘मितिसमेत तोकेर सबै तयारी गरिसकिएको एसईई एक दिन अगाडि रोकियो। तनाव छ। अब पढ्न पनि मन लाग्दैन। यस्तो तयारी भएको अवस्थामा त परीक्षा भएन अब कहिले हुने हो थाहा छैन।’
आफूलाई परिवारका सदस्यले जतिबेला पनि पढ्न आग्रह गर्ने गरेको तर परीक्षा कहिले हुने निश्चित नभइकन आफूलाई अध्ययन गर्न मन नलाग्दा परिवारमा विवाद हुने गरेको रविले बताए।
एकारित एसईई दिन नपाउनुको पीडा, अर्कोतर्फ कोरोनाको त्रास भन्दै धादिङ भुवनेश्वरी उच्च माध्यामिकमा एसईई दिन तयार रहेकी छात्रा मुस्कान रेग्मी आफू तनावमा रहेको बताउँछिन्।
‘परीक्षा रोकियो, अब कहिले हुन्छ भन्ने पनि टुँगो छैन, त्यतिमात्रै चिन्ता हो र? मर्ने बाच्ने पनि थाहा छैन। पढाईको मात्र तनाव भएको कोरोनाको त्रास पनि उत्तिकै छ। हामीलाई धेरै पीडा छ’, उनले भनिन्।
सोही विद्यालयमा अध्ययनरत विनिता घिमिरे भन्छिन्, ‘यस्तो अवस्थामा पढ्न मन नै लाग्दैन। पहिला पढेको पनि सबै बिर्सिन लागियो।’
बालमनोविद दामोदर न्यौपानेका अनुसार एसईई दिने विद्यार्थीलाई यतिबेला अत्याधिक चिन्ता छ। ‘यदि एसईई दिएर बसेको भए उनीहरू बिन्दास हुन्थे। एसईई दिन नपाउँदा र लकडाउनमा परेको अवस्थामा उनीहरूलाई पढ्न मन नलाग्नु स्वाभाविक हो। उनीहरू यतिबेला निकै तनावमा छन्।’
लकडाउन अन्त्य हुनेवित्तिकै एसईई हुने आशामा विद्यार्थी रहेका छन्। तर मनोविद् न्यौपाने लकडाउन खुलेपछि केही समय अध्ययनका लागि दिनुपर्ने बताउँछन्। ‘अहिले विद्यार्थीलाई मानसिक तनाव भएको हुन्छ। त्यसले विद्यार्थीलाई असर गरेको छ। लकडाउन खुल्ने वित्तिकै परीक्षा दिन लगाउने भन्दा पनि केही समय तयारी गर्न समय दिनु उपयुक्त हुन्छ।’







डिसी नेपाल








Facebook Comment