वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता

डिसी नेपाल
१ वैशाख २०७७ २०:४७
4
Shares

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको बताएको जनाइएको छ ।

टेलिफोन वार्तामा मुख्यमन्त्री पौडेलले प्रदेश २ को समस्या नेपालको साझा समस्या भएकाले त्यसको मिलेर समाधान गरिने बताएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । स्वकीय सचिव पौडेलका अनुसार मुख्यमन्त्री पौडेलले प्रदेश २ मा धेरैभन्दा धेरैलाई कोरोना परीक्षण गर्नुपर्ने देखिएकाले परीक्षणमा वाग्मती प्रदेशले पूर्णरुपमा सघाउने बताउँदै उक्त प्रदेशबाट पायक पर्ने जति नमूना हेटौँडाको ल्याबमा पठाउन अनुरोध गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश २ मा लकडाउनलाई कडा बनाउन सल्लाह दिए । कोरोनाविरुद्ध सबैभन्दा प्रभावकारी तरिका लकडाउन मात्रै हुने भएकाले लकडाउनलाई कडा बनाउनुको विकल्प नभएको उनले सुझाउनु भएको स्वकीय सचिव पौडेलले जानकारी दिए । उनले यो वा त्यो प्रदेश भनेर आफू नबस्ने बताउँदै देशलाई नै महामारीबाट बचाउन लाग्नुपर्ने धारणा राखे ।

सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश २ प्रति देखाएको चासो र सहयोगको प्रतिबद्धताप्रति पौडेललाई धन्यवाद व्यक्त गर्दै नेपाल भारतबीचको खुल्ला सिमानाका कारण कोरोना माहामारी नियन्त्रणमा समस्या पर्नसक्ने बताएको जनाइएको छ । मुख्यमन्त्री राउतले नागरिकका आनीबानी तथा शैक्षिक अवस्थाका कारणसमेत समस्या निम्तिन सक्ने बताएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.