बेलायतमा कोरोना भाइरसबाट फेरि अर्का नेपालीकाे निधन
सांकेतिक तस्बिर
लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ ।
सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो।
उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन् ।
गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ।
पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए ।
कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उनको स्वास्थ्यसमेत निकै राम्रो थियो ।
अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन्। रासस







डिसी नेपाल








Facebook Comment