लकडाउन अवधिमा अनलाइन अर्डरबाट ८० क्विन्टल खाद्य पदार्थ बिक्री
लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ । उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले गत चैत २६ गतेदेखि अनलाइन अर्डर शुरु गरेर खाद्यान्न बिक्री वितरण गर्दै आएको हो ।
यस अवधिमा काठमाडौँ उपत्यकाको चक्रपथभित्रका उपभोक्तलाई लक्ष्य गर्दै अर्डरअनुसार दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थ बिक्री गरिँदै आएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । उनका अनुसार चामल र चिनीको बिक्री गर्दै आएको कम्पनीले उपभोक्ताको मागअनुसार तीन प्रकारका दाल (मुसुरो, रहर र केराउ) र पीठोसमेत बिक्रीको तयारी गरिएको उनले जानकारी दिइन् ।
हाल थापाथली, नख्खु, रामशाहपथ, श्रीविनायक र लगनखेल गरी पाँच स्थानबाट खाद्य पदार्थ बिक्रीवितरण गरिएको छ । त्यस्तै उपत्यका बाहिर सबै जिल्लावाट बिक्री गरिएको कम्पनीले जनाएको छ । अन्य समयमा कम बिक्री हुने तराईका जिल्लामा समेत अहिले पर्याप्त मात्रामा खाद्यान्न बिक्री भइरहेको उनले जानकारी दिइन् ।
हाल कम्पनीसँग १९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात छ । मौज्दातमा कमी भएसँगै नयाँ खरीदको प्रक्रिया शुरु हुने उनले जानकारी दिइन् । उनका अनुसार गहुँ खरीदको तयारी गरिएको छ । “लकडाउनको अवधिमा हामीले मोबाइल भ्यान र इसेवावाट खाद्यान्न खरीदको शुरुआत गरेका हौँ”, उनले भनिन् “शुरुआती चरणमा रिङरोड भित्र मात्रै सेवा प्रवाह गरिए पनि उपत्यकाका सबै स्थानमा सेवा प्रदान गर्ने तयारी गरेका छौँ ।”







डिसी नेपाल








Facebook Comment