‘थर्मलगन’ कालोबजारी गर्ने सुलभ अग्रवालविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर
काठमाडौं । कोराना संक्रमणका बेला ज्वोरो नाप्ने थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा स्टिल तथा शंकर ग्रुपमा सञ्चालक व्यापारी सुलभ अग्रवालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौले हेरिरहेको मुद्धालाई जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा लैजानुपर्ने सुझाव दिएपछि मंगलबार जिल्ला अदालत काठमाडौमा दर्ता भएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखका एसपी ह्दय थापाले सरकारी वकिलको कार्यालयले सुलभलाई जिल्ला अदालतमा मुद्धा दायर गरेको जानकारी दिए ।
उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरी मुद्दा दायर गरिएको छ ।
ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ । तीनैवटा दफाअनुसार बढीमा एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले थप ५० प्रतिशत सजाय माग दाबी गरिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले अपराध गरेमा ५० प्रतिशत थप सजाय हुनेछ ।
दफा २(क)मा ‘नेपाल सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारण गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल वस्तुको लिएको मोल फिर्ता गराई सो मालवस्तु जफत गरी निजलाई एक वर्षसम्म कैद हुनेछ र दश लाख रुपैयाँसम्म जरिवानासमेत हुन सक्नेछ ।’
जिल्ला सरकारी वकिलको कार्यालयले दफा ३को उदफा १ अनुसारको दाबी गरी मुद्धा दायर गरेको छ । जसमा ‘दफा २ अन्तर्गत मोल निर्धा्रित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने’ उल्लेख छ ।
उनीविरुद्ध १५ लाख ७८ हजार नौ सय १३ रुपैयाँ सात पैसाबराबरको बिगो दाबी गरिएको छ । उनले एक सय ४५ वटा ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको प्रहरीको आरोप छ । ग्राहक बनेर गएको प्रहरीलाई उनले ६७ वटा थर्मलगन १० लाख रुपैयाँमा बिक्रीको प्रयास गर्दा गत २५ चैत पक्राउ परेका थिए । करिब पाँच हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको बेला उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी कालोबजारी ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालयबाट समय लिएर अनुसन्धान गरिरहेको थियो ।







डिसी नेपाल








Facebook Comment