गौतमबुद्धको उपदेश विश्वमै लोकप्रियः अध्यक्ष प्रचण्ड

डिसी नेपाल
२५ वैशाख २०७७ १३:०७

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिएका गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका छन्।

२५६४औँ बुद्ध जयन्ती तथा लुम्विनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीमा आज एक शुभकामना जारी गर्दै उनले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता भएको जनाएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, “बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढङ्गले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले सबै नेपालीले गर्व गर्न सक्ने उल्लेख छ।

बुद्धजयन्तीले हालसंसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने तागत र ऊर्जा पैदा हुन सक्ने विश्वास व्यक्त गर्दै उनले त्यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुध्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी अध्यक्ष दाहालले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.