सांसद अपहरण प्रकरणः अनुसन्धानका लागि काठमाडौ प्रहरीको टोली महोत्तरी खटियो
काठमाडौं । सांसद अपहरण प्रकरणको अनुसन्धानका लागि काठमाडौबाट नेपाल प्रहरीको टोली महोत्तरी गएको छ ।
शुक्रबार दिउसो सरकारी वकिलको कार्यालयबाट काठमाडौ परिसरलाई पत्र गए लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान गर्न परिसरको टोली महोत्तरी गएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण मुद्दाको जाहेरीबारे जानकारी गराएपछि अनुसन्धान सुरु भएको थियो ।
तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको थियो । सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
प्रहरीले शुरुका उनीहरु विरुद्धको उजुरी लिन नमानेपछि वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिएको थिएन । तर एक हप्तापछि सांसद यादवले दिएको जाहेरीलाई सरकारी वकिलको कार्यालयले लिएपछि अहिले अनुसन्धान अघि बढेको हो ।
लकडाउनको समयमा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । सांसद यादवले आफूलाई इच्छाविपरीत काठमाडौं ल्याएको र आफू अपहरित भएको भन्दै उजुरी दिएका छन् ।







डिसी नेपाल








Facebook Comment