सङ्क्रमितको सम्पर्कमा रहेका ६८ को स्वाब सङ्कलन, पाँच प्रहरीको आरडिटी पोजेटिभ

डिसी नेपाल
११ जेठ २०७७ १९:३५

बैतडी । बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ६८ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको छ । आइतबार २२ र शनिबार ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकामा रहेका प्रहरी, स्वास्थ्यकर्मी र आफन्तहरुको स्वाब सङ्कलन गरेर पठाइएको हो ।

यसअघि शनिबार पनि ३२ प्रहरीसहित ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर धनगढी पठाइएको थियो । यद्यपि स्वाबको रिपोर्ट भने आउन बाँकी रहेको छ । थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको हो ।

ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब सङ्कलन गरिएको हो । चैत ६ गते स्वदेश फर्किएका उनी केही दिन गाउँमा रहेकाले शिवनाथमा पनि स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलनका लागि भिटिएम अभाव

यसैबीच शनिबार कोरोना पुष्टि भएका बैतडीका चार युवकको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलनका लागि भिटिएमको अभाव रहेको छ । सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका ती व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा चार सय बढी नागरिक छन् । उनीहरु गौरीफान्टा नाकाबाट स्वदेश भित्रिएका थिए ।

पाँच प्रहरीको आरडिटी पोजेटिभ

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ देखिएको छ । आइतबार गरिएको २५ जनाको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । आरडिटी पोजेटिभ आउनेमा दुई हबल्दार र तीन जवान रहेका छन् । उनीहरुको २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । यसमध्ये एक महिला हबल्दारसमेत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनका अनुसार पोजेटिभ देखिएका पाँचै जनालाई सदरमुकाम गोठलापानीमा रहेको बसपार्कमा आइसोलेशन निर्माण गरेर राखिएको उनले बताए ।

शिवनाथ गाउँपालिका घर भएका २२ वर्षीय युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला शुक्रबार कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो ।

शनिबार सङ्क्रमितको प्रत्यक्ष सम्पर्क (रेड जोन)मा रहेकाहरुको ३२ प्रहरीसहित ४६ जनाको स्वाब सङ्कलन गरिएको थियो । आज (ग्रिन जोन)मा रहेकाहरुको आरडिटी गरेको भए पनि पोजेटिभ आउँदा जिप्रकाका प्रहरीहरु त्रसित बनेका छन् ।

शुक्रबार सिल गरिएको जिप्रका हिजो स्वाब सङ्कलनपछि केही सामान्य अवस्थामा फर्किरहेका बेला पाँच जनामा आरडिटी पोजेटिभ आउँदा प्रहरी कार्यालय पूर्णरुपमा सिल गरिएको प्रहरी प्रमुख पाण्डेयको भनाइ छ । रेड जोनको स्वाब सङ्कलन गरेपछि सामान्य अवस्थामा फर्किरहेको प्रहरी कार्यालयका ग्रिन जोनमा रहेका प्रहरीमा आरडिटी पोजेटिभ आउँदा समस्या भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.