भौगाेलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त सहमति आवश्यक : प्रधानमन्त्री

डिसी नेपाल
१३ जेठ २०७७ २१:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीकाे सरकारी निवास वालुवाटारमा मंगलबार साँझ  झण्डै ३ घण्टासम्म चलेको सर्वदलीय बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार वैठकमा नेपाल–भारत सीमा विवाद सुल्झाउन वार्ता र कूटनीति नै एक मात्र उपाय भएको नेताहरुले बताएका छन्।

नेपालले नेपालको कालापानी, लिम्पियाधुरा लगायतका भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ । उक्त नयाँ नक्सालाई नेपालको संविधानको अनुच्छेद ३ र निशाना छापमा राख्नका संविधान संशोधन प्रस्ताव संघीय संसदमा दर्ता समेत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरसँग बैठकमा विशेष अनुरोध गर्नु भएको छ।’

जेठ १४ गते बस्ने प्रतिनिधि सभाको वैठकमा संविधान संशोधन सम्बन्धि यो विधेयलाई छलफलका लागि प्रस्तुत गरिने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.