संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट आज पारित हुँदै

डिसी नेपाल
३१ जेठ २०७७ ७:२५

काठमाडौं। जनता समाजवादी पार्टीले पक्षमा मतदान गर्ने निर्णय गरेसँगै सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक आज पारित हुने पक्का भएको छ।

भारतले हडपेको भूमि समेटेर सरकारले राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुने भएको हो। संविधान संशोधन विधेयक संसदबाट पारित भएपछि अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ।

शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको आज बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

दफाबार छलफलपछि उनीमार्फत नै विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरिनेछ। लिम्पियाधुरा, कुटी, गुन्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो।

नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन्। २७ जेठको प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.