पछि हटिनन् सरिता गिरी, पार्टीले ह्वीप लगाउँदा यस्तो जवाफ, संसद बैठक पनि रोकियो

डिसी नेपाल
३१ जेठ २०७७ १३:३२

काठमाडौं। समाजवादी पार्टीले प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । पार्टीको संसदीय दलको बैठकले यो निर्णयसँगै आफ्नी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ ।

तर, सांसद गिरीले भने प्रस्ताव फिर्ता लिन अस्वीकार गरेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले दिएको निर्देशनको जवाफमा सांसद गिरीले संसद बैठकमै यसको जवाफ दिने बताएकी छिन् । संदीय दलको बैठक चलिरहँदा उनी बीचमै बैठक छोडेर बाहिरिएकी थिइन् । दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै उनी बाहिरिएकी हुन् ।

संघीय संसद प्रतिनिधिसभाको बैठक आज १ बजे बस्ने कार्यतालिका थियो तर साढे १ बज्दा समेत बैठक सुरु हुन सकेको छैन । आज संविधान संशोधन प्रक्रियाले अन्तिम रुप पाउने भएकोले यो बैठकलाई महत्वका साथ हेरिएको छ तर बैठक सुरु नहुँदा कतै यसमा सांसद गिरीको अडानले कुनै असर पारेको त हैन भन्ने आशंका पनि उब्जिएको छ ।

यद्यपि सांसद गिरीले संविधान संशोधन रोक्न भने सक्दिनन् किनकि दुई तिहाइ बहुमत भएमा संविधान संशोधन हुन्छ । त्यसमाथि सांसद गिरीको संशोधन नियमविपरित भएकाले सभामुखले खारेज गर्न सक्ने समेत बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.