खेल मैदान निर्माणको अनुगमन

डिसी नेपाल
३१ जेठ २०७७ २१:०५

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा निर्माण शुरु भएको अन्तरराष्ट्रिय खेल मैदानको प्रदेशसभा सदस्यसहितको टोलीले अनुगमन गरेको छ । रु दुई अर्ब ४० करोडको लागतमा निर्माण हुने रग्बी बहुद्देश्यीय अन्तरराष्ट्रिय खेल मैदान निर्माणका जमिन सम्याउने काम भइरहेकाले आज अनुगमन गरिएको हो ।

वाग्मती प्रदेश सदस्य कृष्णलाल भँडेल, सूर्यविनायक नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा, नेकपा र नेपाली काँग्रेसका नेताहरु, विभिन्न वडाका वडाध्यक्षसहितका जनप्रतनिधि र खेलाडीले उक्त क्षेत्रको अनुगमन गरेका थिए ।

अनुगमनमा प्रदेश सदस्य भँडेलले प्रदेशबाट रु एक करोडको बजेट विनियोजनको तयारी भएको बताउँदै नेमकिपाले रङ्गशालाको विरोध गरे पनि यहाँका जनता र अरु दलको समर्थनका कारण यहीँ क्षेत्रमा रङ्गशाला बनाइने बताए । उनले विकास निर्माणमा फुटेर नभई जुटेर लाग्नुपर्ने बताउँदै म भनेर नभई हामी भनेर अगाडि बढ्नसके विकासमा आएको सबै अवरोधलाई चिरेर अगाडि बढ्नसक्ने बताए ।

रङ्गशाला स्थानीय, प्रदेश र सङ्घीय सरकारको बजेटमा निर्माण कार्य हुने कार्यक्रममा चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । उनले नेमकिपाले रङ्गशालाको विरोध गरेको बताउँदै खानेपानीको कुनै समस्या हुन नदिइ यसको सुनिश्चितता गरेको बताए ।

चालीस हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको नगर प्रमुख मिश्रले जानकारी दिए । नगरपालिकाले यस आवमा रु ३५ लाख विनियोजन गरी बुट्यान हटाउने र मैदान सम्याउने काम गरिरहेको छ ।

पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए । आगामी आर्थिक वर्षमा चाँगुनारायण नगरपालिका र प्रदेश सरकारको बजेटमा मैदानको काम अगाडि बढ्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले दोस्रो चरणमा डिपिआरको बाँकी काम सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउने तयारी गरेको प्रदेशसभा सदस्य भँडेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.