सम्पत्ति शुद्धीकरणमा बैंकर योगेन्द्र श्रेष्ठ विरुद्ध मुद्धा दायर, २ अर्ब ६६ करोड दावी
काठमाडौं । बैंकर योगेन्द्र श्रेष्ठ विरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी रकम आर्जन गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
तत्कालिन नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसको दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर भएको विभागले जनाएको छ।
उनले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको पाइएको छ । उनी कार्यकारी अध्यक्ष रहेको फाइनान्स समस्याग्रस्त भई निक्षेपकर्ताहरुको निक्षेप समेत फिर्ता दिन नसकेपछि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले लिक्वीडेसनमा लगिसकेको छ।
विभागका अनुसार श्रेष्ठले कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ । श्रेष्ठले एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम राखेको पनि अनुसन्धानका क्रममा भेटिएको थियो।
तत्कालिन फाइनान्समा रहदा धेरै व्याजदरमा निक्षेप लिने र नक्कली ऋणी खडा गरी आफैले सो रकम दुरुपयोग पनि गर्ने गरेका थिए । यसअघि नेपाल राष्ट्र बैंक र प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोको संयुक्त अनुसन्धानमा उनले नेतृत्व गरेको फाइनान्सले ८८ जनाको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयोग गरेको भेटिएको थियो।
फाइनान्स घोटाला काण्डपछि फरार श्रेष्ठलाई सिआइवीले २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो । २०७१को असार १२ गते सर्बोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो ।







डिसी नेपाल








Facebook Comment