सुशान्त आत्महत्याः ‘दबंग’का निर्देशकले सलमान खानको परिवारमाथि लगाए कैयौं गम्भीर आरोप
मुम्बइ। सलमान खानको सुपरहिट फिल्म दबंगका निर्देशक अभिवन कश्यपले फेसबुकमा एउटा लामो पोस्ट लेख्दै अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केसमा विस्तृत जाँचको माग गरेका छन् । अनुराग कश्यपका भाइ अभिनवले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कमिटीमाथि पनि कलाकारको भविष्य बर्बाद गरेको आरोप लगाएका छन् । उनले सलमान खानको परिवारमाथि पनि कैयौं गम्भीर आरोप लगाएका छन् ।
सुशान्तको केसलाई लिएर अभिनवले लेखेका छन् ‘म सरकारसँग एक विस्तृत जाँच सुरु गर्ने अपिल गर्छु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपुत … ओम शान्ति … तर तिम्रो लडाइ जारी रहनेछ … । उनले अगाडि लेखेका छन् । सुशान्त सिंह राजपुतको आत्महत्याले एउटा ठूलो समस्यालाई अगाडि ल्याएर उभ्याएको छ जसको सामना हामीमध्ये धेरैले गरेका छौं । वास्तवमा के छ जसले एक व्यक्तिलाई आत्महत्या गर्न बाध्य पार्छ ? मलाई डर छ कि उनको मृत्यु मीटू आन्दोलन जस्तै एउटा ठूलो हिमखण्डको निकै सानो हिस्सा हो । जसले बलिउडलाई धेरै सताएको थियो ।’
अगाडि उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीलाई कठघरामा उभ्याउँदै सुशान्तको मृत्युको केसमा उसको भूमिकाको जाँच गर्न माग गरेका छन् । उनले लेखेका छन् ‘सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा अधिकारीहरुले वाइआरएफ ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीको भूमिकाको पनि जाँच गर्नुपर्छ । उनीहरु करिअर बनाउँदैनन् । उनीहरु तपाइँको करिअर र जीवन बर्बाद गर्छन् ।’
उनले अगाडि लेखेका छन् ‘एक दशकसम्म व्यक्तिगत रुपमा समस्याग्रस्त रहेपछि म विश्वासका साथ भन्न सक्छु कि हर ट्यालेन्ट म्यानेजर र बलिउडका हरेक ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीहरु कलाकारहरुका लागि मृत्युको जाल हुन् । उनीहरु सबै मूल रुपले सफेदपोश दलाल हुन् र हर कोही यसमा सहभागी छ । उनीहरु सबैको एउटा अघोषित आचार संहिता छ जसको उनीहरु पालन गर्छन् । उनीहरुको एउटा सजिलो मन्त्र छ ‘समूहमा सबै नाङ्गा र जो नाङगो छैन उसलाई पनि नाङगो पार किनकि एउटा पनि समातियो भने सबै समातिन्छन् ।’
अभिनवले भनेका छन् ‘पहिले ट्यालेन्ट स्काउट (कास्टिङ निर्देशक आदि) कट वा कमिशनको लागि काम गर्दै शिकारको रुपमा मुम्बइबाट बाहिरका यस्ता ट्यालेन्टलाई खोज्छन् जसको सम्पत्ति र सम्पर्क कम होस् । त्यसपछि ती प्रतिभाहरुलाई बलिउड सेलिब्रेटीहरुसँग भेट गराउने नाममा बलिउडका पार्टीहरु र रेष्टुरेण्टमा बोलाइन्छ । यस्तो पार्टीमा उनहिरुलाई बेवास्ता गरिन्छ र निकै नराम्रो व्यवहार गरिन्छ । त्यसैले उनीहरु आफूलाई उपेक्षित महसुस गर्छन् र उनीहरुको आत्मविश्वास टुट्छ ।’
‘एक पटक जब आत्मविश्वास टुट्छ त्यसपछि स्काउटले उनीहरुलाई बलिउडका शिकारीहरुबाट बचाउने नाममा कैयौं वर्षसम्मको सम्झौता अफर गर्छन् । जुन सम्झौता एक पटक साइन गरेपछि तोड्नु आर्थिक रुपमा धेरै नोक्सानीपूर्ण हुन्छ । यसको बदलामा भारी जरिवाना लगाइन्छ । यसमा साइन गराउनको लागि कैयौं किसिमका उपाय अपनाइन्छ र यो सुनिश्चित गरिन्छ कि कलाकारसँग त्यसमा साइन गर्ने अलावा निकै कम विकल्प बाँकी रहुन् ।’
‘एक पटक कलाकारलाई साइन गराएपछि ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीले उनीहरुलाई निकै कम पैसा दिएर बँधुवा मजदूरबाट जस्तै काम लिन थाल्छन् । यदि उनीहरु बहादुर देखाएर उनीहरुको जालबाट बच्न सफल भए पनि निकै व्यवस्थित तरिकाले उनीहरुको बहिष्कार गरिन्छ । त्यसपछि उनीहरु राम्रो विकल्पको खोजीमा अर्को एजेन्सीमा जान्छन् तर यस्तो हुँदैन ।’
‘त्यो राम्रो भविष्य कहिले पनि आउँदैन र अर्को एजेन्सीले पनि उनीहरुसँग दुरुस्तै पहिलेजस्तै व्यवहार गर्छन् । त्यसपछि केही वर्षभित्रै कुनै पनि कलाकारको आत्मविश्वास टुट्छ । त्यसपछि उनीहरु कि आत्महत्या गर्छन्, कि वेश्यावृत्ति वा एस्कट सर्भिस लगायतको काममा संलग्न हुन्छन् । बलिउडबाहेक कर्पोरेट जगत र राजनीतिक हस्तीको अहंकार र उनीहरुको यौन भोक मेटाउनका लागि उनीहरुको प्रयोग गरिन्छ ।
अभिनवले लेखेका छन् ‘दबंगको १० वर्षपछि यो हो मेरो कहानी । यसै कारणले मैले १० वर्ष अघि दबंग–२ बनाउन पछि हटेँ किनभने अरबाज खानले सोहेल खान र आफ्नो परिवारसँग मिलेर मेरो करियर नियन्त्रण गर्ने कोसिस गरे र यसका लागि हरेक तरिका अपनाउँदै मलाई धम्की दिए ।’
‘अरबाज खानले श्री अष्टविनायक फिल्म्सका प्रमुख राज मेहतालाई फोन गरेर मेरा अन्य प्रोजेक्ट रोकिदिए । साइनिङ अमाउन्ट फिर्ता गरेपछि म भियाकम पिक्चर्ससँग जोडिएँ । तर त्यहाँ पनि उनले त्यही गरे र यसपटक सोहेलले भियाकमका सिइओ विक्रम मलहोत्रासँग कुरा गरे । मैले ७ करोडको आफ्नो साइनिङ अमाउन्ट पछि ९० लाख ब्याजसहित फिर्ता गर्नुपर्यो ।’
‘केही वर्षमा मेरा सबै प्रोजेक्ट रोकियो र मलाई लगातार मार्ने र परिवारका सदस्यलाई बलात्कार गर्ने धम्की दिइयो । यसैकारण मेरो मानसिक स्वास्थ्य नराम्रोसँग प्रभावित भयो र मेरो सम्बन्धविच्छेद भयो । त्यसपछि सन् २०१७ मा जब मैले प्रहरीमा उजुरी दिने कोसिस गरेँ तब उनीहरुले रिपोर्ट लेख्न अस्वीकार गरे । मेरो उजुरीमा अहिले पनि कुनै कारवाही भएको छैन, मसँग अहिले पनि सबै प्रमाण छ ।’
‘पछिल्लो १० वर्षमा मेरा दुश्मन को हुन् भनेर मैले चिनिसकेको छु । उनीहरु सलिम खान, सलमान खान, अरबाज खान र सोहेल खान हुन् । यहाँ थुप्रै साना माछा पनि छन् तर सलमान खानको परिवार विषालु सर्पको टाउको हो । कसैलाई डर धम्की दिन उनीहरु अवैध धन, राजनीतिक शक्ति र अन्डरवर्ल्ड सम्बन्धको मिश्रणको प्रयोग निकै चतुर्याइँका साथ गर्छन् ।’







डिसी नेपाल








Facebook Comment