भारत-चीन तनावले नेपालमा सुरक्षा प्रभाव पार्ने सेनाको निश्कर्ष, आवश्यक रणनीति बनाउँदै सेना
काठमाडौं। नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाली सेनाले यसपटक विना सन्दर्भ पृतनापतिहरुको सम्मेलन गरेर सबै क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा कालापानी पुगेर आए लगत्तै पृतनापतिहरुको सम्मेलन गरेपछि चीन र भारतबीचको चिसिँदो सम्बन्धको विषयमा छलफल गर्दै नेपालमा त्यसको प्रभावबारे मूल्यांकन गरी प्रतिकुल परिस्थिति आउनसक्ने आँकलन गरिएको छ।
चीन–भारतबीच गलवान उपत्यकामा भएको भिडन्तपछि दुई देशबीच उत्पन्न भइरहेको र हुनसक्ने तनावले नेपालको सुरक्षामा पार्ने प्रभावका विषयमा सेनाका जर्नेलहरूबीच छलफल भएको र उनीहरुले नेपालमा पनि त्यसको असर पर्ने निष्कर्ष निकालेका हुन्। सेनाले चीन–भारत सम्बन्धपछि उत्पन्न हुनसक्ने प्रतिकूल परिस्थितिका विषयमा यथार्थ विश्लेषणसहित योजना तथा रणनीति बनाउने विषयमा समेत छलफल गरेको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा तीदिनसम्म चलेको पृतनापति समन्वयात्मक बैठकमा पृतना तथा बाहिनीपतिहरूले पछिल्लो घटनाक्रमका विषयमा आफ्नो धारणा प्रस्तुति दिएका थिए । बैठकले नेपाल र भारतको सीमा क्षेत्रमा पनि समस्या आउनसक्ने संभावनातर्फ इगिंत गर्दै परिस्थितिको सामाना गर्न नेपाली सेना तयार हुनपर्ने निष्कर्ष निकालिएको बैठक स्रोतले जनाएको छ ।
बैठकमा सहभागी उच्च सैन्य स्रोतका अनु्सार बिदेशबाट उद्धार गरिएकाहरू मध्ये त्यहाँ सजाय भुक्तान र सजाय माफी पाएकाहरूलाई नियमित निगरानीमा राख्ने र उनीहरूलाई उचित सम्बोधनको आवश्यकताका विषयमा सरकारलाई जानकारी गराउने विषयमा छलफल भएको थियो। सेनाले यसरी विदेशमा अपराध कसुर ठहर भए पनि आममाफी पाएर आएकाहरूलाई सरकारले उचित सम्बोधन नगरे उनीहरूलाई राज्यविरुद्ध सशस्त्र संघर्षको तयारीमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गर्नसक्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।
प्रधानसेनापति थापाले बैठकलाई आइतबार गरेको सम्बोधनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन, विश्लेषण गर्दै विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न मातहतलाई निर्देशन दिएका थिए।
शुक्रबारको बैठकमा सेनाले नेत्रविक्रम चन्दको गतिविधिबारे सुरक्षा विष्लेषण गरेको थियो भने शनिवार र आइतबार नेपाल भारत सीमा, अन्र्तराष्टिय परिस्थिति र त्यसबाट नेपालमा पर्नसक्ने प्रभाव तथा भारत चीन विवाद बारे छलफल गरेको थियो । आइतबार भने कोरोना भाइसर संक्रमण तथा नेपाली सेनको जिम्मेवारीको विषयमा छलफल गरेको थियो ।
आइतबार प्रधानसेनापति थापाले निर्देशनात्मक सम्बोधनमा देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिबद्ध रहेको बताएका थिए। उनले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नियमित रुपमा आयोजना हुने भनिए पनि यसपटको बैठकमा रक्षामन्त्री तथा रक्षा सचिवलाई सहभागी गराइएको थिएन । सैनिक जनसम्पर्क निर्दैशनालयले भने यस बैठकलाई नियमित समन्वयात्मक बैठकमा भनेको छ । बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समीक्षा, कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितिजन्य विषयहरू सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको थियो।
बैठकमा पीएसओज रथीहरू, सबै पृतनापतिहरूलगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरूको समेत उपस्थिति रहेको निर्देशनालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment