इरानले खसालेको यूक्रेनी विमानको ब्ल्याक बक्स फ्रान्स पठाइने

डिसी नेपाल
९ असार २०७७ २०:४८

तेहरान । तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ‘ब्ल्याक बक्स’को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएकोे इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताएका छन् ।

मन्त्री जरिफले उक्त कुरा क्यानडाली विदेशमन्त्री फ्राँस्वा फिलिप च्याम्पियनसँगको टेलिफोन वार्तामा बताएका हुन्। उक्त विमानको ब्ल्याक बक्स आगामी केही दिनमा तेहरानबाट फ्रान्स पठाइनेछ,”जरिफलाई उद्धृत गरी इरानी राष्ट्रिय समाचार संस्था, आइआरएनए, ले समाचारमा उल्लेख गरेको छ ।

बोइङ कम्पनीको यूक्रेनी ध्वजावहाक विमान ७३७–८०० विमान इरानको राजधानी तेहरानबाट यूक्रेनको राजधानी किभका लागि उडेको केही समयपछि तेहरानस्थित खोमेइनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गत जनवरी ८ तारिखका दिन दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना भएको वा हतियारको प्रयोग गरी खसालिएको थियो भन्ने विषयमा इरान, क्यानडा, बेलायत, अमेरिका, यूक्रेनबीच फरक मत देखिएपछि अन्तमा इरानले विमान खसालिएको कुरालाई स्वीकार गरेको थियो ।

विमानले १७६ यात्रुसहित चालक दलका सदस्य लिएर उडिरहेको समयमा दुर्घटनाग्रस्त भएको इरानले प्रारम्भिक अवस्थामा बताएको थियो । स्याटलाइट तस्वीरहरूमा विमानलाई कुनै मानव निर्मित वस्तु (हतियार) आई ठोकिएपछि दुर्घटनाग्रस्त भएको भनी क्यानडालगायतका मुलुकले यसको स्वतन्त्र छानविनका लागि दवाव दिएपछि इरानले विमानलाई इरानी सैनिकले खसालेको स्वीकार गरेको थियो ।

केही समयपछि भने विमानमाथि इरानी सैनिक मिसाइल ‘भूलबस’ लागेको पुष्टि गरेको थियो । शुरूमा विमानको ब्ल्याक बक्स विदेश पठाउन नमानेको इरानले करिब छ महिनापछि यसलाई अध्ययनका लागि फ्रान्स पठाउन सहमत भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.