भारतीय सेनासँगको हिंस्रक झडपबारे चीनको रक्षा मन्त्रालयले भन्यो – ‘सबै दोष भारतको’

डिसी नेपाल
१० असार २०७७ १४:२२

बेइजिङ। लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच भएको सैन्य झडपमा सबै दोष भारतकै रहेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले औपचारिक रुपमा धारणा राख्दै गत साता पूर्वी लद्दाख क्षेत्रमा भएको भिडन्तका लागि भारतीय पक्ष पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको हो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु चिआनले बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय पक्षले एकपक्षीय रुपमा उक्साहटको काम गरेको र दुवै पक्षबीच भएको सहमतिको उल्लंघन गरेको कारणले त्यो घटना भएको बताएका छन् । उनले चीनले सीमा क्षेत्रमा शान्ति र स्थिरता स्थापित हुने आशा लिएको समेत बताए ।

गत साता पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ भएको हताहतिबारे औपचारिक रुपमा जानकारी गराइएको छैन। भारत र चीनबीच भएको झडपमा ४५ वर्षपछि हताहति भएको हो।

भारत र चीनबीच धेरै स्थानमा सीमा स्पष्ट छैन। विभिन्न चरणमा वार्ता भएपनि सहमति जुटेको छैन। जसका कारण दुवै देशका सैनिकहरुबीच झडप हुने गरेको छ। गत हप्ताको सोमबार झडप भएपछि भने लद्दाख नजिकको विवादित क्षेत्रबाट भारत र चीन आफ्ना सेना त्यहाँबाट फर्काउन सहमत भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.