श्रीलंका चीनतर्फ ढल्केको भन्दै भारतमा चिन्ता
नयाँ दिल्ली (एजेन्सी)। हालका दिनहरुमा भारत आफ्ना सबै छिमेकीसँग सम्बन्ध सुमधुर राख्न असफल भएको छ। पाकिस्तानसँग उसको पररम्परागत दुश्मनी छ भने चीनसँग सीमामा झण्डै युद्धको अवस्था बनेको छ। यता नेपाली भूमि अतिक्रमण गरेको भारतले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपालसँग वार्तामा बस्न चाहिरहेको छैन।
बंगलादेशसँग पनि भारतको नयाँ नागरिकता ऐनका कारण विवाद छ। यसरी छिमेकीहरुसँग विवादमा फसेको भारतलाई चिन्ता थपिने गरी अर्को छिमेकी श्रीलंका चीनतर्फ ढल्किएको मिडिया रिपोर्टहरु आएका छन्।
भारतीय सञ्चार माध्यम द हिन्दुले श्रीलंका चीनतर्फ ढल्किएको र भारतले अवसर गुमाएको भन्दै समाचार प्रकाशित गरेको छ। समाचारअनुसार आर्थिक संकटसँग जुधिरेको श्रीलंकाले चीनसँग ऋण सहयोग र ऋण चुक्ताको म्याद थप गर्न सहयोग मागेको छ। चीनले पनि यसरी सहयोग गर्ने तयारी गरेको द हिन्दुमा समाचार प्रकाशित छ।
श्रीलंकामा राजापाक्षे दाजुभाइको सरकार छ, जुन चीनप्रति झुकवा राख्छन्। राष्ट्रपति गोटाभाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेले ऋण सहयोग र ऋण चुक्ताको म्याद थपका लागि भारतसँग पनि आग्रह गरेको तर भारतले भरोसा दिलाउन नसकेको द हिन्दुले जनाएको छ। यसरी भारतबाट विश्वस्त हुन नसकेपछि श्रीलंका चीनको भरोसामा गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। श्रीलंका चीनतर्फ ढल्किनु भारतका लागि चिन्ताको विषय भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
कोरोना महामारीका कारण हाल विश्वभर आथिंक संकट देखिएको छ। श्रीलंकामा गत वर्ष ईस्टरमा भएको आतंकवादी आक्रमणका कारण त्यहाँको आर्थिक अवस्था झन खराब रहेको छ। श्रीलंकाले भारतसँग मुद्रा सटहीका लागिसमेत सहयोग मागेको बताइएको छ। तर, भारतले त्यसको जवाफ भने दिएको छैन।







डिसी नेपाल







Facebook Comment