लिम्पियाधुरासमेतको भूभाग समेटिएको पुस्तक प्रकाशनको तयारी

डिसी नेपाल
२ साउन २०७७ २१:०२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताएकी छन् ।

आज मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले लिम्पियाधुरा समेटीएको नक्सा सार्वजनिक हुनु ऐतिहासिक काम भन्दै त्यस विषयमा अध्ययन गरी पुस्तकनै सार्वजनिक गर्ने बताएकी हुन् ।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिइन् । राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै उनले विगतमा छुट्याइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन्।

मन्त्री अर्यालले मन्त्रालयले प्रकाशन गरेको भूमी शब्दकोषको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारवाही समेटिएको पुस्तक विमोचन गरेकी हुन्।

उनले भूमी शब्दकोषले भूमीसम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमीकमजोरी सच्याउने बताउँदै शब्दकोषमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासमेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिइन् ।

त्यस अवसरमा गण्डकी प्रदेशको सचिवका रुपमा सरुवा भएर गएका सहसचिव चन्द्रकला पौडेल र मन्त्रालयबाट अवकाश प्राप्त उपसचिव गोपाल गिरीलाई बिदाई गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.