अन्तरिक्षमा हतियार परीक्षण गरेको अमेरिकी आरोप रुसद्वारा अस्वीकार
बीबीसी । भू–उपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेको दाबीलाई रुसले अस्वीकार गरेको छ। ‘जुलाई १५ मो गरिएको परीक्षणले कुनै पनि भू–उपग्रहलाई खतरा थिएन,’ रुसको रक्षा मन्त्रालयले भनेको छ।
रुसले यसअघि नवीनतम अन्तरिक्ष प्रविधि परीक्षण गर्ने क्रममा एउटा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर एउटा भू–उपग्रह जाँचिएको बताएको थियो। तर अमेरिका र यूकेले अन्तरिक्षमा गरिएको सो परीक्षणप्रति चिन्ता व्यक्त गरेका छन्।
‘रुसले एउटा भू–उपग्रहबाट हतियारको जस्तो गुण भएको उपकरण परीक्षण गरेको प्रक्रियाबाट हामी चिन्तित भएका छौँ,’ यूकेको अन्तरिक्ष निर्देशनालयका प्रमुख एअर भाइस मार्सल हार्भे स्मिथले भने।
यूकेले रुसको अन्तरिक्षमा गरिएको परीक्षणबारे आरोप लगाएको यो पहिलो पटक हो। अमेरिकाले पहिला पनि अन्तरिक्षमा रुसको गतिविधिबारे प्रश्न उठाउने गरेको छ। अमेरिकी सरकारले भू–उपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ।
अमेरिका र रुसबीच आगामी साता भियनामा अन्तरिक्ष सुरक्षाको विषयमा सन् २०१३ यता पहिलो पटक द्विपक्षीय वार्ता गर्ने तयारी छ। सो वार्ता अन्तरिक्ष कानुन नभएको क्षेत्र भएको कुरालाई प्रकाशमा ल्याउने एउटा मौका हुनसक्ने अन्तर्राष्ट्रिय सुरक्षा र निशस्त्रीकरणसम्बन्धी अमेरिकी सहायक मन्त्री क्रिस्टोफर फोर्डले बताएका छन।
शुक्रवार रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसको एउटा निगरानी भू–उपग्रहले रुसी अन्तरिक्ष यानलाई नजिकैबाट एउटा विशेष सानो अन्तरिक्ष उपकरण प्रयोग गरेर निरीक्षण गरेको बताएको छ।
रुसले सो कार्यले अन्तर्राष्ट्रिय कानुनको कुनै पनि मापदण्ड वा सिद्धान्तलाई उल्लङ्घन नगरेको बताएको छ। मन्त्रालयले अमेरिका र यूकेले ‘अन्तरिक्षमा हतियार राख्न र त्यसका लागि आवश्यक कोष जुटाउन अवस्थालाई गलत तरिकाले प्रस्तुत गर्ने अर्को प्रयास गरेको’ आरोप लगाएको छ।







डिसी नेपाल







Facebook Comment