भारतको अयोध्यामा राम मन्दिर निर्माण गर्न भूमि पूजन सम्पन्न

डिसी नेपाल
२१ साउन २०७७ १७:४४

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा हिन्दू मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन्। मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन्।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो। राम मन्दिरको शिलान्यास भारतमा कोरोनाभाइरसको सङ्क्रमणमा ह्वात्तै वृद्धि भइरहेको समयमा भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलान्यासपछि भने, ‘५०० वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरीकाले सम्पन्न भएको छ।’

भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्। रामदेवले भने, ‘राम मन्दिर निर्माणको कार्यक्रम देख्न पाउनु भारतको सौभाग्य हो। देशमा रामराज्य स्थापित गर्न पतञ्जलि योगपीठले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने छ। संसारभरबाट आध्यात्म र आयुर्वेदका लागि त्यहाँ मानिसहरूले अध्ययन गर्न आउन सक्नेछन्।’

तर कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी/लेनिनवादी) ले प्रधानमन्त्री मोदी और मुख्यमन्त्री योगी आदित्यनाथले भूमिपूजा कार्यक्रममा भाग लिएकोमा प्रश्न उठाएको छ। आधिकारिक ट्विटरमा उसले राज्यलाई धर्मबाट अलग राखिने भारतीय संविधानको भावनालाई सम्मान गर्न आग्रह गरेको छ।

ट्वीटमा लेखिएको छ, ‘भारतको संविधानमा धर्म र राजनीतिलाई मिसाउन नहुने उल्लेख छ तर किन भारतको प्रधानमन्त्री र उत्तर प्रदेशको मुख्यमन्त्रीले एउटा मन्दिरको भूमिपूजा समारोहबाट राजनीतिक लाभ लिने प्रयास गरिरहेका छन्?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *