लेबनान विस्फोटः चारैतिर शव छन् वा घाइते मानिस

डिसी नेपाल
२१ साउन २०७७ १९:३१
52
Shares

बेरुत (एजेन्सी)। लेबनानको राजधानी बेरुतमा मंगलबार स्थानीय समयअनुसार साँझ ६ बजे भएको विस्फटपछि त्यहाँको अवस्था निकै दर्दनाक देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

लेबनान रेडक्रसका अध्यक्ष जर्ज केट्टानीले भनेका छन्, ‘विस्फोटपछि यहाँ चारैतिर यात शव छन्, यात घाइते मानिस।’ उनले रेडक्रसले विस्फोटपछि बेपत्ता भएकाहरुको खोजी गरिरहेको बीबीसीलाई जानकारी दिएका छन्। उनले पछिल्लो अपडेटअनुसार कम्तिमा १ सय जना मारिएको र ४ हजारभन्दा धेरै घाइते रहेको बताएका छन्। साथै करिब एकसयजनाको अवस्थाबारे कुनै जानकारी छैन। भग्नावशेषमा उनीहरुको खोजी भइरहेको उनले जानकारी दिएका छन्।

लेबनानका राष्ट्रपति माइकल इयोनले देशमा आपतकालीन अवस्थाको घोषणसमेत गरेको बीबीसीले जनाएको छ। बुधबार बसेको क्याबिनेटको आपतकालीन बैठकपछि देशमा आपतकालीन अवस्थाको घोषणा गरिएको हो। यस्तै तीन दिने राष्ट्रिय शोकको समेत घोषणा गरिएको छ। राष्ट्रपति माइकलले यो दुर्घटनाबारे छानविन गर्ने जानकारी दिएका छन्।

२०१३ मा एक पानी जहाजबाट बरामद गरिएको २७५० टन अमोनियम नाइट्रेट भण्डारण गरिएको गोदाममा आगलागीपछि विस्फोट भएको हो। अमोनियम नाइट्रेटको उपयोग कृषि मल र विस्फोटमा हुनेगर्छ। यो आफैमा विस्फोटक पदार्थ नभए पनि अनुकुल परिस्थितिमा भयानक विस्फोटक बन्ने बताइएको छ। र विस्फोटपछि नाइट्रोज र अमोनियम जस्तो विषालु ग्यास पनि निस्कने जनाइएको छ।

मंगलबार भएको विस्फोटले पूरा बेरुत शहरलाई हल्लाइदिएको बीबीसीले उल्लेख गरेको छ। पुरै शहरमा घरका शिशाहरु फुटेका छन् भने विस्फोट नजिकै निकै क्षति भएको छ। यो विस्फोटको आवाज २५० माइल टाढाको साइप्रससम्म सुनिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *