कोभिड-१९ सँगै जीवनशैली बनेको अनलाइन किनमेलको रमाइलो इतिहास
बीबीसी । पछिल्लो केही महिनामा तपाईँले अनलाइन किनमेलका लागि कतिपल्ट ‘चेक आउट’ थिच्नु भएको छ? विश्वभर कोभिड–१९ पछि वृद्धि भएको अनलाइन किनमेललाई हेर्ने हो भने सम्भवतः त्यो सङ्ख्या पहिलेभन्दा एकदमै धेरै छ।
खानेकुरा, किताब, सौन्दर्य सामग्री र केटाकेटीहरूका खेल्ने कुराहरू यो महामारीको समयमा अनलाइनबाटै हाम्रो घरको ढोकासम्म आइपुग्यो। दशकौँदेखि अनलाइनबाट खरिद बिक्री गर्ने अभ्यास रहे पनि महामारीले हाम्रो किनमेल गर्ने व्यवहारलाई परिवर्तन गरेको छ।
अनलाइन किनमेल अहिले मूलधारमा आएको छ। एमेजन कम्पनी सन् १९९० को दशकको मध्यदेखि अस्तित्वमा रहेपनि सन् २०१० सम्म अमेरिकामा अनलाइन किनमेलले खुद्रा व्यापारको छ प्रतिशत हिस्सा मात्रै ओगट्ने गरेको थियो।
सन् २००६ मा यूकेमा किनमेलको तीन प्रतिशत अनलाइनमा आधारित थियो र त्यो सन् २०२० मा १९ प्रतिशत पुगेको थियो। महामारीपछि एप्रिल महिनामा त्यो बढेर ३० प्रतिशत पुगेको छ। अमेरिकामा नै अनलाइन बिक्री सन् २०१९ को तुलनामा ३१ प्रतिशतले बढेको छ।
र नयाँ बजारका रूपमा उदाइरहेका देशहरूमा एउटा क्रान्ति जस्तै भइरहेको छ। बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार नयाँ बजारका रूपमा उदाइरहेका देशहरूमा सन् २०२२ सम्ममा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या तीन अर्ब पुग्नेछ जुन विकसित देशभन्दा तीन गुणा बढी हो।
चीनमा पाँचमध्ये एउटा खुद्रा कारोबार अनलाइनमार्फत् हुने गर्छ जुन यूके, अमेरिका, जर्मनी र फ्रान्सभन्दा बढी हो। मानिसहरूले इन्टरनेटमा सामान हेर्ने तर बजारमा नै गएर किन्ने अनलाइन प्रभावको पनि ठूलो हिस्सा छ। कोभिड(१९ को महामारीअघि हाम्रो दैनिक जीवनमा अभिन्न अङ्ग हुने गरी अनलाइन किनमेल कहिल्यै जोडिएको थिएन।
सन् १९८४ मा ब्रिटेनमा ७२ वर्षीया जेन स्नोबलले कुर्सीमा बसेर आफ्नो टेलिभिजनको रिमोट कन्ट्रोल प्रयोग गर्दै बटर, कर्नफ्लेक्स र अण्डा अर्डर गरेकी थिइन्। उनले माइकल अल्ड्रिच ले बनाएको ‘भिडिओटेक्स’ प्रविधिको प्रयोग गरेकी अक्सफर्ड विश्वविद्यालयका सहायक डीन तथा रिटेल मार्केटिङका सह-प्राध्यापक जोनाथन रेनल्डस बताउँछन्।
अल्ड्रिचले आफ्नो टेलिभिजनलाई कम्प्युटर टर्मिनल जस्तो बनाएकी थिइन् र उनले भिडिओटेक्स प्रविधिबाट किनमेल गर्न सकिने सामानको सूची तयार गरेकी थिइन्। उनको अर्डर स्थानीय विक्रेता टेस्कोसम्म पुग्थ्यो र जादुजस्तै गरी अर्डर गरिएका सामान घरको ढोकासम्मै आइपुग्थे।
रेनल्डसका अनुसार यो जेष्ठ नागरिकहरूलाई समाजसेवा गर्ने उद्देश्यले सुरु गरिएको थियो। सार्वजनिक रूपमा इन्टरनेट आउनुभन्दा अघिको यो प्रविधिले कम्प्युटरहरूको सञ्जालमा निर्भर भएर काम गर्थ्यो। त्यसबेला अल्ड्रिच र स्नोबलले नसोचेको उक्त प्रविधि परीक्षण अहिले यूकेमा मात्रै १८६ अर्ब डलर बराबरको उद्योग बनिसकेको छ।
खानेकुराबाट सुरु भएको अनलाइन किनमेलको अर्को महत्त्वपूर्ण विकास सन् १९९४ मा भयो। २१ वर्षीय डेनियल एम कोनले नेटमार्केट नामको अनलाइन बजार स्थापना गरे। त्यसलाई ‘साइबर स्पेसमा रहेको पहिलो सपिङ मल’ का रूपमा तुलना गरिएको थियो र त्यसबाट डिजिटल रूपमा सुरक्षित कारोबार पनि गरिएको थियो। पहिलो कारोबार १२.४८ डलरको सीडी रहेको थियो।
सन् १९९४ मा पीज्जा हटले आफ्नो वेवसाइटमार्फत् पीज्जा बिक्री गर्न थाल्यो। त्यसबेला पीज्जानेट नामक उक्त पोर्टलमा उपभोक्ताको ठेगाना र फोन नम्बरमात्रै राख्न मिल्ने व्यवस्था थियो।
सन् १९९४ २१ वर्षीय व्यवसायको लागि महत्त्पूर्ण वर्ष बन्यो। एमेजन बजारमा आयो र त्यसले त्यो बेला किताबको बिक्रीमा केन्द्रित गर्यो। अर्को वर्ष इबे कम्पनी सुरु भयो।
पछिल्ला वर्षहरूमा पश्चिमा बजारमा प्रभाव बढाइरहेको जापानी अनलाइन कारोबार साइट राकूटेन त्यसको दुई वर्षपछि घोषणा भयो। चिनियाँ कम्पनी अलीबाबा सन् १९९९ मा प्रतिस्पर्धामा उत्रियो।
यी कम्पनीहरूले अनलाइन कारोबारलाई विस्तार गरे र प्रविधिको प्रयोग गरी उपभोक्तालाई बजारसम्म सहज पहुँच दिलाए। सन् १९९० को दशकमा विकास र विस्तार भएको अनलाइन कारोबार अहिलेको विन्दुमा सन् २०१७ आसपासमा आइपुगेको बताइन्छ। त्यसअघि वर्षमा १० मध्ये ८ जना अमेरिकी नागरिकले कम्प्युटर वा मोबाइल फोन प्रयोग गरी सामान खरिद गरेको प्यू अनुसन्धान केन्द्रको अध्ययनले देखाएको छ।
उपभोक्ताको हातमा मोबाइल फोनको पहुँच पुगेसँगै अनलाइन कारोबारमा उल्लेख्य वृद्धि भएको विज्ञहरू बताउँछन्। सन् २०१९ को तथ्याङ्क हेर्दा अमेरिकामा मात्रै इ–कमर्समार्फत् हुने कारोबार ६०१ अर्ब डलर नाघेको छ।
यूनिभर्सीटी अफ पेन्सेलभीनीयाकी मार्केटिङ प्राध्यापक बार्बरा क्हान पछिल्लो कोभिड(१९ महामारीले अनलाइन बिक्रीलाई दुईदेखि तीन वर्ष छिटो बढाइदिएको बताउँछिन्। महामारीले दैनिक उपभोग्य वस्तुहरू नै अनलाइनमार्फत् खरिद गर्नुपर्ने अवस्था निम्त्याएको भए पनि कोभिड–१९ पछि पनि यसको भविष्य सकारात्मक रहेको उनी बताउँछिन्।







डिसी नेपाल








Facebook Comment