फेसबुक पोष्टका कारण बेङ्गलुरुमा हिंसा, तीन जनाको मृत्यु

डिसी नेपाल
२८ साउन २०७७ १८:०७

बीबीसी । सामाजिक सञ्जालमा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अनादर हुने सामाग्री प्रकाशित गरिएको भन्दै विरोध गरिरहेका प्रदर्शनकारीरूमाथि प्रहरीले गोली चलाउँदा दक्षिण भारतको बेङ्गलुरुमा तीन जनाको मृत्यु भएको छ।

फेसबुकमा त्यस्तो आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्तिसँग नाता पर्ने स्थानीय नेताको घरबाहिर प्रदर्शनकारीहरूको भिड लागेको थियो। त्यहाँ उनीहरूले सवारीसाधनमा आगो लगाइदिएका थिए। त्यहाँ आइपुगेका प्रहरीहरूलाई उनीहरूले ढुङ्गा प्रहार गरेको बीबीसी हिन्दीले जनाएको छ।

प्रहरीले आरोप लागेका ती व्यक्ति र ११० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीहरूले एउटा प्रहरी चौकीमा पनि आक्रमण गरेको बताइएको छ। मङ्गलवार राति भएको घटनामा ६० जनाभन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएको बेङ्गलुरुका आयुक्त कमल पन्तले बताएका छन्।

हिंसा भड्किएपछि त्यहाँ कर्फ्यू आदेश जारी गरिएको थियो। प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको जानकारी दिएको छ। अश्रुग्यास र लाठी प्रहार गर्दा पनि भिड नियन्त्रण हुन नसकेपछि सुरक्षाकर्मीले गोली चलाएको उसको दाबी छ। कर्णाटक राज्यका गृहमन्त्रीले उक्त घटनामा मानवीय क्षति भएको पुष्ट गरेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार फेसबुकबाट उक्त सामग्री मेटिएको छ। गृहमन्त्री अखण्ड श्रीनिवासले भिडिओमार्फत् प्रदर्शनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन्। उनले न्याय हुने वचन दिएका छन्। ‘म मेरा मुस्लिम बन्धुहरूलाई कानुन उल्लङ्घन गर्ने व्यक्तिसँग नलड्न आग्रह गर्छु। जे भए पनि हामी दाजुभाइ हौँ,’ उनले भने। घटनाका लागि जिम्मेवार व्यक्तिले दण्ड पाउनुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.