अस्ट्रेलियामा दुई हजार वर्ष पहिले केरा खेती हुने गरेको प्रमाण भेटियो

डिसी नेपाल
२८ साउन २०७७ १८:४३

बीबीसी । अस्ट्रेलियामा पुरातत्त्वविद्हरूले त्यहाँका मूलवासीहरूले प्राचीन समयमा केरा खेती गरेको स्थान फेला पारेका छन्। अस्ट्रेलियाको मुख्यभूमिको उत्तरमा टोरेस स्ट्रेट भनिने स्थानको सानो टापुमा २१४५ वर्ष पुरानो केरा खेती गरिएको स्थान छ।

अनुसन्धानकर्ताहरूले उक्त स्थानमा केराको सूक्ष्म अवशेष, ढुङ्गाका औजार, अँगार र पर्खालको अवशेष फेला पारेका छन्। उनीहरूका अनुसार यो अन्वेषणपछि अस्ट्रेलियाका मूलवासीहरू खालि सिकार गरेर जीविका चालाउँथे भन्ने यसअघिको धारणा मिथ्या प्रमाणित हुन सक्छ।

माबुयाग आईल्यान्ड नामक टापुमा फेला परेका अवशेषहरूको अनुसन्धानको नतिजा अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटी र यूनिभर्सिटी अफ सिड्नीका अनुसन्धान टोलीले बुधवार सार्वजनिक गरेको हो।

‘हाम्रो अनुसन्धानले माबुयागमा बस्ने गेगमलगाल जातीय समुदायका मानिसहरूका पुर्खा कम्तीमा पनि दुई हजार वर्षअघि नै जटिल र विविधतापूर्ण खेती तथा बागवानी कार्यमा संलग्न थिए भन्ने देखाएको छ,’ प्रमुख अनुसन्धानकर्ता रबर्ट विलिअम्सले भने।

उनी भन्छन्, ूटोरेस स्ट्रेटलाई ऐतिहासिक रूपमा नै हाल इन्डोनेशिया र पापुआ न्यू गिनीको भागका रूपमा रहेको न्यू गिनीका खेतीबारी गर्ने र सिकार गरेर जीवन धान्ने अस्ट्रेलियाका मूलवासी जातीय समुदायलाई छुट्याउने रेखाका रूपमा लिइँदै आइएको थियो।

तर अब यो नयाँ तथ्य अगाडि आएपछि त्यो स्थान विभाजनरेखा भन्दा पनि दुवै क्षेत्रमा हुने खेती र बागवानीका अभ्यासहरूबीचको सेतु वा फिल्टर का रूपमा रहेको देखिएको अनुसन्धानकर्ता विलिअम्सको धारणा छ।

अनुसन्धानका क्रममा फेला परेको कृषि प्रणाली प्राचीन समयमा स्थानीय रूपमा उपभोग हुने क्षेत्रीय खानेकुराअनुकूल देखिन्छ। तिनमा पिँडालु, टारो र केरा पनि पर्छन्। एबोरिजिनल भनिने अस्ट्रेलियाका मूलवासी र टोरेस स्ट्रेटस्थित टापुवासी समुदायहरू त्यहाँ ब्रिटेनको उपनिवेश बन्नुअघि घुमन्ते र सिकारी थिए भन्ने मिथ्या धारणा व्यापक रूपमा प्रचारित थियो।

त्यहाँको भूमि कुनै बसोबासविहीन र कसैको स्वामित्वमा नरहेको दाबाी गर्दै त्यसमा आफ्नो हक कायम गर्नका लागि ब्रिटिश उपनिवेशवादीहरूले मूलवासी समुदायहरूको कृषि प्रणालीको अभ्यासबारेको प्रमाणलाई जानाजान नकार्ने गरेको इतिहासकारहरूले बेलाबखत भन्दै आएका छन्।

अस्ट्रेलियमा अझै पनि प्राचीन मूलवासीहरूको जमिन खनजोत र भोगचलनको अभ्यासका बारेमा त्यति व्यापक जानकारी छैन। तर गत दशकमा भएका अनुसन्धानहरूले मूलवासी अस्ट्रेलियालीहरूको उपनिवेशकालभन्दा अघिको समयका कृषि, प्राविधिक र भौतिक निर्माणका अभ्यासहरूमा प्रकाश पार्ने कार्य गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.