संवैधानिक आयोगमा पदाधिकारी नियुक्ती चाँडो गर्न सत्ता र प्रमुख प्रतिपक्ष सहमत
काठमाडौं। दश वटा संवैधानिक आयोगमा रिक्त ३९ पद पूर्ति हुन सकेको छैन। संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधान बनेको पाँच वर्ष पूरा भइसक्दासमेत संवैधानिक आयोगका रिक्त पदमा नियुक्ती हुन नसकेको हो।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा उपस्थिति नहुँदा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्न नसकेको सरकारले आरोप लगाउँदै आएको छ।
संवैधानिक निकायमा पदाधिकारी नियुक्तीको विषयलाई लिएर सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाबीच छलफल भएको थियो।
उक्त छलफलमा प्रमुख प्रतिपक्ष दलले संवैधानिक निकायमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने अडान राखेको स्रोतले बताएकोे छ। विशेष गरी कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिनिधित्व खोजेको छ।
कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक भएपछि अब चाँडै संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने सरकारले तयारी गरेको छ।
सोमबार भएको छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले संवैधानिक नियुक्तीका विषयमा प्रधानमन्त्रीले सभापति शेरबहादुर देउवासँग छलफल गरेको बताए।
‘प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक राखौं र रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ती गरौं भन्ने प्रस्ताव गर्नु भयो,’ लेखकले डिसी नेपालसँग भने, ‘सभापतिजीले बैठक बोलाउनु, त्यसमा छलफल गर्न हामी तयार नै छौं भन्नु भयो।’
१३ वटा संवैधानिक आयोगमध्ये दश वटा आयोगमा ३९ पदाधिकारी पद रित्त छ। कतिपय आयोगमा अध्यक्ष नियुक्त भएपनि अन्य पदाधिकारी भने नियुक्त हुन सकेको छैन।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सोमबार संवैधानिक निकायमा नियुक्तीका विषयमा छलफल भएको बताए।
स्रोतका अनुसार कांग्रेस सभापति देउवाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तीमा भागवण्डा खोजेका र त्यसमा प्रधानमन्त्री सहमत भएपछि केही दिनभित्रै संवैधानिक परिषदको बैठक बसेर संवैधानिक निकायमा पदाधिकारी नियुक्ती गर्ने तयारी छ।
कांग्रेसले अख्तियारमा राष्ट्रिय अनुसन्धान आयोगका पूर्व प्रमुख दिलीप रेग्मीको नाम प्रधानमन्त्रीलाई बुझाएको स्रोतको दाबी छ।







डिसी नेपाल








Facebook Comment