रासायनिक मलकाे चरम अभाव, मन्त्रालय भन्छ- काेविडका कारण सकिएन
काठमाडौं। सिजनको हिसावले यतिबेला धान गोड्ने बेला हो। धान गोडेसँगै किसानले खेतमा रासायमिक मल प्रयोग गर्छन्। तर धान खेतलाई आवश्यक पर्ने रासायनिक मल अभाव हुँदा किसान मर्कामा परेका छन्।
दैनिक जसो संचारमाध्यममा रासायनिक मलको अभाव भएको समाचार आउन थालेपछि सोबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्यो।
संचारमाध्यमा मात्रै नभएर समाजिक संजालमा पनि रासायनिक मल अभावको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घनश्याम भुसालको चर्को आलोचना भयो। त्यसपछि मन्त्रालयले निकै नरम भाषामा विज्ञप्ति जारी गर्दै कलकत्ताबाट मल ल्याउने जनाएको थियो।
अहिले मुलुकभर रासायनिक मलको अभाव देखिएको छ। किसानको माग बमोजिम कृषि सामाग्री केन्द्रले रासायनिक मल उपलब्ध गराउन सकेको छैन। जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेडले मल प्रयाप्तमात्रामा नभएको उल्लेख गर्दै किसानको माग बमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ। अहिले अनुदानको मल अभाव भएपछि किसानले निजी क्षेत्रबाट चर्को मूल्य तिरेर मल खरिद गर्न बाध्य भएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले कोविड–१९ कारण उत्पन्न परिस्थितिका कारण प्रयाप्त मात्रामा रासायनिक मल ल्याउन नसकिएको बताए। मुलुकमा वर्षेनि झण्डै आठ लाख मेट्रिक टन मलको माग हुने गरेको छ। तर साँढे पाँच लाख मेट्रिक टन मल भए पुग्ने कृषि विकास मन्त्रालयले जनाएको छ। यो वर्ष तीन लाख मेट्रिक टन मल ल्याइसकिएको र बाँकी मल पनि आउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. केसीले यो वर्ष बजेट अभावकै कारण मल आयातमा ढिला नहुने अवस्था भएपनि कोविड र त्यसबाट उत्पन्न परिस्थितिका कारण प्रयाप्त मल आयात गर्न नसकिएको जनाए।
‘यसअघिका वर्षमा बजेट अभावमा प्रयाप्त मल आयात गर्न नसकिएको अवस्था थियो,’ प्रवक्ता डा. केसीले डिसी नेपालसँग भने, ‘यो वर्ष मल खरिदका लागि ११ अर्व रुपैयाँ छुट्ट्याइएको थियो, तर कोविड र त्यसबाट उत्पन्न परिस्थितिले गर्दा सोचे अनुसारको काम गर्न नपाइँदा प्रयाप्त मात्रामा मल आयात गर्न सकिएन।’
युरिया मल असार १५ गतेभित्रै ल्याइसक्ने गरी काम भएपनि डेढ महिना कोलकातामा लकडाउन भएका कारण मल ल्याउन नसकिएको उनको भनाइ थियो। मन्त्रालयले कोलकताबाट चाँडै मल ल्याउने गरी ठेक्काको काम सम्पन्न भइसकेको र चाँडै मल आइपुग्ने दाबी गरेको छ।
यो वर्ष कृषिमन्त्री घनश्याम भुसाल आफैंले राजनीतिक र प्रशासनिक हिसाले धेरै प्रयास गरेको, मन्त्री भुसालको पहलमा भारतको गुजरातबाट सिधै मल ल्याउन गरी प्रयास भएको भएपनि राजनीतिक कारण संभव नभएको मन्त्रालय स्रोतले जनाएको छ।







डिसी नेपाल








Facebook Comment