राप्रपामा विवादः गाई कि हलो ?

डिसी नेपाल
२ भदौ २०७७ १८:०१

काठमाडौं। नेपालमा सबैभन्दा धेरै पटक फुटेको र जुटेको पार्टी हाे राष्ट्रिय प्रजातन्त्र पार्टी। पूर्व पञ्चहरुको यो पार्टी आधा दर्जन पटक पुटिसकेको छ भने त्यति नै पटक जुटेको पनि छ। हालै तीनवटा पार्टीबीच अब फेरि नफुट्ने गरी भन्दै एकीकरण भएको थियो।

तर, त्यो एकीकरणले पूर्णता नपाउँदै राप्रपामा फेरि विवाद चुलिएको छ। राप्रपामा हाल तीनजना अध्यक्ष छन्। कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी। यी तीन अध्यक्षमध्ये एक कमल थापाले मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन्। उनले ‘म दबाबमा काम गर्दिन, सबैलाई थाहा छ’ भन्ने शीर्षकमा लेखेको स्टासमा पार्टीको चुनाव चिन्हबारे विवाद भएको उल्लेख गरेका छन्।

थापाले लेखेका छन्, ‘राप्रपा र राप्रपा संयुक्तका बिच एकिकरण हुॅदा सम्झौताको दफा (९) मा ‘पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ’ भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ। यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होइन। महिनौंको छलफल, विवाद र बहसपछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ।’

उनले अगाडि लेखेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आवश्यक, उपयुक्त र साहसिक निर्णय गर्नेछ। कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन, आवश्यक छैन। भोली सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्य एक निर्णय हुने नै छ। यो विवादले पार्टी एकता टुट्दैन। ढुक्क भए हुन्छ।’

चुनावचिन्ह प्राविधिक बिषय हो भन्दै थापाले, जे चिन्ह राखेपनि हुन्छ भन्नेले राप्रपा नेपाल हुँँदै राप्रपासम्म आइपुग्दा गरिएको संघर्षलाई सायद बिर्सिएको वा अनुभूत नगरेको आरोप लगाएका छन्। उनले गाई चुनाव चिन्ह लिन पनि सदनदेखि सडकसम्म संघर्ष गर्नु परेको समेत स्मरण गराएका छन्।

उनले भनेका छन्, ‘संविधान जारी भएपछि राष्ट्रिय जनावर र हिन्दु धर्मको प्रतिक ‘गाई’ चुनावचिन्ह दिन मिल्दैन भनेर ऐनको मस्यौदा गरियो। राप्रपाका सासंदहरूको जोडबलबाट पहिले पाइसकेको चिन्हका हकमा भने त्यो व्यवस्था लागु नहुने प्रवधान थप गरियो। ‘गाई’ चुनाव चिन्हमा राप्रपाकै इतिहासमै अहिले सम्मको सर्वाधिक (समानुपातिकमा करिव करिब ७ लाख) मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिन्हबाट निर्वाचित छन्। ‘गाई’तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह हो।’

थापा गाईको पक्षमा रहे पनि राणा र लोहनी भने हलो चुनाव चिन्ह हुनुपर्ने पक्षमा छन्। चुनाव चिन्हको विवादले राप्रपामा फेरि विग्रह ल्याउन सक्ने एक नेताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.