कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
स्याङ्जा । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत शिल गरिएको हो । कैदीबन्दीलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
कैदीबन्दीका उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका व्यक्तिको अहिले कन्ट्रयाक्ट ट्रेसिङ शुरु भएको छ । कारागारमा १५० कैदीबन्दी छन् । प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कारागारको सुरक्षासमेत नेपाली सेनाले गर्दै आएको छ । प्रहरीमा कोरोना देखिएपछि कारागार भित्र आउजाउ गर्न बन्द गरिएका अवस्थामा पनि कोरोना संक्रमण देखिएकाले आफू अन्योलमा परेको जेलर चूडामणि भण्डारीले बताए।
जिल्ला अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा उपचार गराइएका कारागारका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्रयाक्ट टे«ेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ ८ गतेसम्म अस्पताल शिल गर्ने निर्णय गरेकाले सबै सेवा बन्द गरिएको जनाएको छ । कैदीबन्दीमा संक्रमण पुष्टि भएसंँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भएर घर फर्किएका छन् ।







डिसी नेपाल








Facebook Comment