नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर
काठमाडौं। विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर असर देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।
२०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ । सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।
महाव्याधिले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । सर्वेक्षणमा सहभागीले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति (फ्रीक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमीत भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत सहभागीलेआफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रीक्वेन्सी) घटेको उल्लेख गरेका छन् । रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् ।
सर्वेक्षणमा विपतसँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो। जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको छ । पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औंल्याइएको छ । त्यसबाहेक विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको छ ।








डिसी नेपाल








Facebook Comment