सन्दीप लामिछाने सम्मिलित जमैकाको पहिलो जित
काठमाडौं । क्यारेबियन प्रिमियर लिगको तेस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले आफ्नो पहिलो जित हात पारेको छ । सेन्ट लुसिया जौक्सलाई जमैकाले पाँच विकेटले हराएको छ ।
तरौबामा गए राति अबेर सम्पन्न खेलमा सेन्ट लुसियाले प्रस्तुत गरेको १५९ रनको लक्ष्य जमैकाले खेल सकिन सात बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १६० रन बनाएर पुरा गर्यो । जमैकाको जितमा पाकिस्तानका ब्याट्सम्यान आसिफ अलीले मात्र २७ बलको सामना गर्दे पाँच चौका र दुई छक्काको सहयोगले अविजित रहँदै ४७ रनको उत्कृष्ट पारी खेले । कप्तान रबमन पावेलले २६ र ओपनर ग्लैन फिलिप्सले ४४ रनको योगदान दिए । आन्द्रे रस्सैलले १६ र क्रैग बर्थवैट अविजित रहँदै मात्र नौ बलमा १८ रन बनाए । ८४ रनमै चार विकेट गुमाएको जमैकाको पारीलाई आसिफले अगाडि बढाएका थिए । सेन्ट लुसियाका लागि स्कट कग्लेजिन, ओबेड म्याक्कै र रखिम कोर्नवालले सामान एक एक तथा केस्रिक विलियम्सले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएका सेन्ट लुसियाले पुरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १५८ रनको औसत योगफल तयार गर्यो । सेन्ट लुसियाका लागि रोष्टन चेजले सर्वाधिक ५२ रनको योगदान दिए । नेपाली बलर सन्दीप लामिछानेले चार ओभरमा मात्र २३ रन खर्चेर एक विकेट लिए । सन्दीपले २१ बलमा एक चौका र एक छक्कासहित २५ रनको व्यक्तिगत् योगफलमा ब्याटिंग गरेका अफगानिस्तानका नजिबुल्लाह जर्दनलाई कप्तान रबमन पावेलको हातमा क्याच थमाए । विरासम्मी पर्मोल र मुजिब ऊर रहमान दुई दुई तथा आन्द्रे रस्सैलले एक विकेट लिए ।
जमैकाले आफ्नो दोस्रो खेलमा ट्रिबागो नाइट राइर्डस विरुद्ध शुक्रबार स्पर्धा गर्नेछ । पहिलो खेलमा जितसँगै जमैका अङ्क तालिकामा दोस्रो स्थानमा छ । क्यारेबियन प्रिमियर लिगमा कुल छ टोलि सहभागी छन् ।







डिसी नेपाल








Facebook Comment