नाभाल्नीको रगत र पिसावको परीक्षणमा विषको कुनै लक्षण नदेखिएको चिकित्सकको भनाइ

डिसी नेपाल
५ भदौ २०७७ २०:११

मस्को । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीको रगत र पिसावमा विषको कुनै सङ्केत नभेट्टिएका बताइएको छ ।

प्रारम्भिक रिपोर्टमा विषाक्त पदार्थ खुवाइएका कुनै सङ्केत नभेटिएको ओम्स्कस्थित आपलकालीन अस्पताल नम्बर १ का उप–प्रमुख चिकित्सक एनाटोली कालिनिचेन्कोले शुक्रबार बताएका हुन् । उनको अन्य परीक्षणहरू ओम्स्क र मस्कोमा अझै चलिरहेका रूसी चिकित्सकहरूले बताएका छन् ।

उपचारमा सम्लग्न चिकित्सक कालिनिचेन्कोले पत्रकारहरूसँग भने, “हामी विषाक्तताको विभिन्न सम्भावनाबारेमा अध्ययन गरिरहेका छौँ । आजसम्म गरिएको अध्ययनले रगत वा पिसावमा कुनै विष वा तिनीहरूको उपस्थितिका कुनै सङ्केतहरू पत्ता लागेको छैन ।”

प्रभावशाली विपक्षी नेता नाभाल्नी साइबेरियन शहर तोम्स्कबाट मस्कोका लागि आइरहेका समय बिहीबार गम्भीर बिरामी भएको बताएपछि विमानलाई ओम्स्कमा आपतकालिन अवतरण गरिएको थियो । नाभाल्नीलाई अस्पतालमा भर्ना गरेपछि उनि तुरुन्तै बेहोस भएको र अहिले भेन्टिलेटरमा राखिएको छ ।

रूसी भ्रष्टाचारविरोधि संस्थाले विपक्षी नेता नाभाल्नीले टोम्स्कको एयरपोर्टमा चिया पिउनुभएको र त्यसमा विषाक्त पदार्थ मिलाइएको आशङ्का गरेको छ । यद्यपि नाभाल्नीको उपचारमा सम्लग्न चिकित्सकहरूले नाभाल्नीको बिरामीको सम्भावित कारणमध्ये एउटा विषाक्तता भएको भएपनि अन्य समस्याहरूबारे पनि परीक्षण भइरहेको बताएका छन् ।

यसैबीच संस्थाका निर्देशक इभान जादानोभले यातायात प्रहरी अधिकारीलाई उद्धृत गर्दै नाभाल्नीको शरीरमा घातक पदार्थ भेटिएको र यसले उनलाई मात्र नभई वरपरका मानिसहरूलाई पनि खतरा तुल्याएको बताएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.