चीनले पाकिस्तानलाई झनै शक्तिशाली बनायो, नयाँ दिल्लीदेखि अमेरिकासम्म तरंगित !
काठमाडौं। चीनले आफ्ना ४ सबैभन्दा अत्याधुनिक युद्धपोतमध्ये एक लञ्च गरेको छ । यी युद्धपोतहरु चीनले पाकिस्तानको लागि बनाइरहेको छ । चीन र पाकिस्तानको यो कदमले नयाँ दिल्लीदेखि अमेरिकासम्म तरंगित भएका छन् । चीन र पाकिस्तानबीच रक्षा उपकरणको सहकार्य यस्तो बेलामा बढेको छ जतिबेला भारतको चीन र पाकिस्तान दुवैसँग तनाव बढेको छ । उता चीन र अमेरिकाबीच पनि तनाव उत्कर्षमा छ र भारतलाई अमेरिकाले दक्षिण एसियामा आफ्नो बलियो सहयोगीको रुपमा हेरेको छ ।
भ्वाइस अफ अमेरिकाको रिपोर्टअनुसार पाकिस्तानको नौसेनाले आइतबार चीनको सरकारी शिपयार्ड हुडोंग जोंगुआले टाइप ०५४ एपी युद्धपोतको लञ्चिङ कार्यक्रम आयोजना गरेको बताएको छ । पाकिस्तानी नौसेनाले यी युद्धपोतबाट आफ्नो क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ । नौसेनाको बयानमा युद्धपोतको लागतबारे केही बताइएको छैन । मिडिया रिपोर्टका अनुसार एउटा युद्धपोतको लागत ३५० मिलियन डलरभन्दा बढी पर्ने दावी गरिएको छ ।

पाकिस्तानी सेनाका अनुसार यी जहाज पाकिस्तानी नौसेनाका सबैभन्दा आधुनिक र ठूला जहाजमध्ये एक हुनेछन् र भविष्यका चुनौतीहरुसँग जुध्न सहयोग गर्नेछन् । चीनले पाकिस्तानलाई २०२१ सम्म चारवटै युद्धपात सुम्पिनेछ । चिनियाँ मिडिया रिपोर्टअनुसार यी ४ युद्धपोत पाएपछि पाकिस्तानी नौसेनाको शक्ति दोब्बर बढ्नेछ । पाकिस्तानी अधिकारीका अनुसार यस किसिमका युद्धपोत चीनको नौसेनाको पनि महत्वपूर्ण अंग हुन् र चीनको जनमुक्ति सेनाको मेरुदण्ड मानिन्छन् । चीन र पाकिस्तान मिलेर जेएफ १७ कम्ब्याट एयरक्राफ्टसहित अन्य कैयौं सैन्य उपकरण पनि उत्पादन गरिरहेका छन् ।

केही दिनअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको भविष्य चीनको साथमा रहेको बताएका थिए । चीनको पाकिस्तानसँग बढ्दो निकटता भारतको लागि चिन्ताको विषय हो । यसबाट पाकिस्तानका सामरिक महत्वका स्थलमा चीनको पहुँच बढ्नेछ जुन भारतको लागि संकटको स्थिति हुन सक्छ । पाकिस्तान र चीन दुवैसँग भारतको युद्ध भइसकेको छ । चीनले १९६२ मा भारतमाति आक्रमण गरेर लद्दाखको ठूलो हिस्सा कब्जा गरेको थियो । पाकिस्तान र भारतबीच त अहिलेसम्म पनि कश्मिरका विषयमा युद्ध भइरहन्छ ।
अहिलेको परिस्थितिका यदि भारतको चीन वा पाकिस्तानमध्ये कुनै एकसँग तनाव बढेमा उसले दुवैको सामना गर्नुपर्नेछ । चीन र पाकिस्तानबीच सैन्य मात्र नभइ आर्थिक साझोदारी पनि बलियो भएको छ । पाकिस्तान चीनको बेल्ट एण्ड रोड इनिसिएटिभमा सहभागी छ । अर्कोतर्फ चीनले चाइना पाकिस्तान इकोनोमिक करिडोरको लागि ३० अर्ब डलर लगानी गरिसकेको छ । चीनले पाकिस्तानमा सडक, बन्दरगाह र पावर प्लान्ट निर्माण गरिरहेको छ । यसले भारतमात्र नभइ पश्चिमी देशहरुको पनि चिन्ता बढाएको छ ।







डिसी नेपाल








Facebook Comment