कोभिडले थिलथिलो पारेको अर्थतन्त्रलाई रेमिट्यान्सको राहत, असारमै भित्रियो एक खर्व रुपैयाँ
काठमाडौं। कोभिड–१९ को महामारी र लकडाउनका कारण प्रभावित भएको अर्थतन्त्रलाई रेमिट्यान्सको आप्रवाहले राहत दिएको छ।
असार महिनामामात्र विदेशमा काम गर्ने नेपालीहरुले रेमिट्यान्समार्फत एक खर्व भन्दा बढी रकम नेपाल पठाएका छन्। मासिक रुपमा नेपाल भित्रिएको रकममा यो हालसम्मकै उच्च रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। रेमिट्यान्स उच्च बृद्धि भएपछि सरकारलाई आर्थिक सूचकहरु बलियो बनाउन मद्दत पुगेको छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको थियो। एक महिनामा रेमिट्यान्स एक खर्व एक अर्व रुपैयाँले बृद्धि भई असार मसान्तसम्ममा ८ खर्ब ७५ अर्ब रुपैयाँ भित्रिएको छ।
कोविड–१९ को महामारीले गर्दा विश्वश्रम बजार प्रभावित भएपछि रेमिट्यान्स घट्ने अनुमान गरिएको थियो। तर, आर्थिक वर्षको अन्त्यमा उच्च रेमिट्यान्स आएपछि नेपाली अर्थतन्त्रलाई राहत पुगको छ।
नेपालीहरु रोजगारीमा रहेका खाडी मुलुकहरुमा सुरु भएको आर्थिक मन्दीका कारण गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स प्रभावित हुन थालेको थियो। त्यसपछि कोविड–१९ को महामारीले झनै प्रभावित भयो।
कोविड–१९ को संक्रमण रोक्न नेपाललगायत विश्वका अधिकांश देशमा लकडाउन भएको समय चैतमा सबैभन्दा कम ३४ अर्व ४८ करोड मात्र रेमिट्यान्स भित्रिएको थियो। अवस्था सामान्य हुन थालेपछि बैशाखदेखि सुधार हुँदै असारमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको हो।
कोभिड–१९ को महामारीले गर्दा हुण्डीलगायतका अनौपचारिक च्यानल बन्द भएपछि बैंकिङ च्यानलबाट भित्रने रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरुले अनुमान गरेका छन्।
‘कोभिड संक्रमण रोक्न गरिएको लकडाउनले गर्दा हुण्डी कारोबार बन्द भयो’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘यसले गर्दा बैंकिङ च्यानलमा रेमिट्यान्स बृद्धि भएको हुन सक्छ।’
यसैगरी लकडाउनका कारण कामदारहरुले लामो समय रकम पठाउन नपाएको कारण पनि असारमा बढेको हुन सक्ने अनुमान गरिएको छ। यसैगरी विदेशमा रोजगारी गुमाएर फर्किएका र फर्किने तयारीमा रहेका कामदारले एकमुष्ट रकम पठाएकाले पनि रेमिट्यान्स बृद्धि भएको बताइएको छ।
समग्रमा आर्थिक वर्षको तुलना गर्दा भने रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ८ खर्व ७९ अर्व रेमिट्यान्स भित्रिएको थियो।
कोभिडका कारण चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतसम्म गिरावट आउने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको थियो। तर आर्थिक वर्षको अन्तितमा उच्च रेमिट्यान्स भित्रिए पछि कोभिडले थिलथिलो पारेको अर्थतन्त्रलाई राहत भएको छ।
रेमिट्यान्स बृद्धि भएपनि आयातमा गिरावट आए पनि देशको विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्व १ अर्ब ८४ करोड पुगेको छ। आर्थिक वर्ष २०७६/७७ को शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचत भएको छ।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो। अर्थविद्धहरुले भने विश्वभर कोभिडको महामारी अन्त्य भइ नसकेकाले रेमिट्यान्समा प्रभाव देखिन केही समय लाग्ने बताउँदै आएका छन्।







डिसी नेपाल








Facebook Comment