क्राइस्टचर्चमा ५१ मुस्लिमको हत्या गर्नेलाई पेरोल नपाउने गरी आजीवन कारावासको सजाय
काठमाडौं। २०१९ को मार्च १५ मा न्यूजिल्याण्डको क्राइस्टचर्चमा २ मस्जिदमा अन्धाधुन्ध गोली हानेर ५१ जना मुस्लिमको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ । २९ वर्षका अस्ट्रेलियाली नागरिक ब्रेन्डन टेरेन्टलाई क्राइस्टचर्चको उच्च अदालतले बिहीबार यस्तो सजाय सुनाएको हो । ५१ हत्या र ४० हत्याको प्रयासको अभियोगमा दोषी प्रमाणित भएका उनलाई अदालतले पेरोलमा बाहिर निस्कन पनि नपाउने सजाय सुनाएको हो । पेरोल कैदीलाई गराइने एक प्रकारको प्रतिज्ञा हो जसको आधारमा विशेष काम भएका कैदी निश्चित समयको लागि जेलबाहिर निस्किन पाउँछन् तर सो अवधि पूरा हुनासाथ कैदी पुनः जेलमै फर्किनुपर्छ ।
न्यूजिल्याण्डमा यस्तो सजाय सुनाइएको पहिलो पटक हो । आफ्ना वकिल पिप हलमार्फत अदालत उपस्थित भएका टेरेन्टले आफूलाई सुनाइएको सजायको प्रतिरोध गरेनन् । सजाय सुनाउँदै न्यायाधीश क्यामरुन मेण्डरले यो अपराधको लागि कुनै पनि न्यूनतम कैद सजाय निर्धारण गर्न नसकिने भएकोले टेरेन्टलाई जीवनभर जेलमै बस्नुपर्ने सजाय सुनाइएको बताएका छन् । ‘तिमीले गरेका अपराध यतिसम्म निन्दनीय छन् कि तिमीलाई मर्दासम्म कैदमा राख्दा पनि तिम्रो सजाय पूरा भएको मान्न सकिँदैन’ न्यायाधीश मेण्डरको भनाइ उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले लेखेको छ ।
न्यायाधीश मेडरले अगाडि भनेका छन् ‘तिम्रा क्रियाकलापहरु अमानवीय थिए । तिमीले कुनै दया देखाएनौ । तिमी केवल हत्यारा होइनौ, आतंकवादी हौं । तिमीले न्यूजिल्याण्डको जीवनशैलीमाथि नै आक्रमण गरेका छौ ।’ टेरेन्टले ३ वर्षको बालकको हत्या गरेकोमा न्यायाधीश मेण्डरले कडा निन्दा गरेका थिए । फैसला सुनाउनुअघि न्यायाधीश मेण्डरले टेरेन्टसँग अदालतलाई केही भन्नुपर्ने कुरा भए भन्न समय दिएका थिए तर टेरेन्टले ‘केही छैन, धन्यवाद’ भनेर कुनै पनि संवेदनाविहीन रुपमा चुपचाप बसेका थिए ।







डिसी नेपाल








Facebook Comment