गोरखामा निषेधाज्ञा सोमबारदेखि हटाइने, धनुषा र सिन्धुपाल्चोकमा थप

डिसी नेपाल
१४ भदौ २०७७ १९:११

गोरखा । गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

बैठकले जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय पनि भएको उनले बताए । “जिल्ला भित्रै निजी सवारी साधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्”, उनले भने, “तर त्यस्ता सवारी साधनमा चालकसहित तीन जनाभन्दा बढी यात्रु चढ्न पाइने छैन ।”

त्यस्तै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सोमबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताए ।

जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताए । “मालपोत, जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालय र निजी सङ्घसंस्था कुन बार, कसरी सञ्चालन गर्ने भन्ने योजना बनाउँदै छौँ”, उनले भने, “मापदण्ड बनाएर कहिले, कुन बार के सेवा दिने भन्ने छुट्याएर सञ्चालन गर्दैछौँ ।”

छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखा जिल्ला यही भदौ १ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा गरी गरिएको थियो ।

धनुषा र सिन्धुपाल्चोकमा थप

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म पु¥याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज सुरक्षा समितिको बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र निजी सवारी साधनमा रोक लगाइएको छ । त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागु गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गरेका छन् । त्यस्तै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको पनि बताइएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित ९९ जना पुगेका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.