भरतपुर कोरोना अस्पतालको विषयमा मुख्यमन्त्री पौडेलको चासो
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना विशेष अस्पताल, भरतपुरको वास्तविकता जान्न इच्छुक रहेको बताएका छन् । हेटौँडामा आज भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीसँगको भेटमा मुख्यमन्त्री पौडेलले उक्त अस्पतालको सामान चोरी भएको भन्दै सार्वजनिक भएको भिडियोका बारेमा चासो राखेका थिए ।
जवाफमा प्रमुख दाहाल र अस्पतालका अध्यक्ष अधिकरीले अस्पतालको सामान चोरी भएको नभइ स्थानान्तरण गरिएको बताएका थिए । चितवनमा कोरोना सङ्क्रमण तीव्र भएपछि नियन्त्रणबारे छलफल गर्न पौडेलले प्रमुख दाहाल र अस्पतालका अध्यक्ष डा अधिकारीलाई हेटौँडा बोलाएका हुन्।
भेटमा मुख्यमन्त्री पौडेलले कोरोना नियन्त्रणका लागि सरकार लागि परेको बताउँदै महानगरलाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गरे । उनले प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामग्री पु¥याइएको र अभाव हुन नदिने उल्लेख गरे । पौडेलले अनावश्यक मान्छेले पिसीआर परीक्षण गरिरहेको भन्दै त्यसलाई रोक्नुपर्ने धारणा राखे । उनले लक्षण भएका र कोरोना सङ्क्रमितहरुसँग प्रत्यक्ष सम्पर्क भएका तथा चिकित्सकको सल्लाहअनुसार मात्रै कोरोना परीक्षण हुनुपर्नेमा जोड दिए । पौडेलले आफ्नो क्षेत्राधिकारअनुसार सबै निकायले काम गर्नुपर्ने उल्लेख गरे ।
भेटमा नगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले सञ्चालन गर्न लागेको आइसोलेशन केन्द्र तथा नयाँ पिसीआर मेसिन खरिदका लागि बजेट माग गरेकी थिइन् । उनले भरतपुरमा कोरोना महामारीको अवस्था भयावह हुने देखिएकाले परीक्षणको दायरा बढाउनुपर्ने अवस्था आएको, कोरोना परीक्षणको रिपोर्ट समयमै दिन नसक्दा जनआक्रोश बढेको लगायतको समस्या राखिन् ।
दाहालले महानगरले भरतपुरको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय बागेश्वरीमा आइसोलेशन केन्द्र सञ्चालनका लागि रु एक करोड माग गरेकी थिइन्। छलफलमा डा भोजराज अधिकारीले विगतमा कोरोना सङ्क्रमित देखिए पनि हाल लक्षण भएका बिरामी देखिन थालेकाले चिन्ता व्यक्त गरे । उनले भरतपुरमा १० जना सङ्क्रमित भेण्टिलेटरमा रहेको जानकारी दिए । डा अधिकारीले चितवनमा १८ हजार नमूना परीक्षण गरिएको बताउँदै चितवनका १८ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित भएको जानकारी दिए । कोरोना परीक्षणका लागि स्वचालित मेसिन खरिद गर्न पर्ने उनको भनाइ थियो ।







डिसी नेपाल







Facebook Comment