के ट्रम्पको यो भनाई उनको हारको कारक बन्न सक्छ?
वाशिङ्टन (एजेन्सी)। आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ। निर्वाचनमा रिपब्लिकनबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटबाट जो बाइडेन उम्मेदवार छन्। ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा हुँदा पूर्व उपराष्ट्रपति वाइडेनले उनलाई कडा टक्कर दिइरहेका छन्।
अमेरिकामा गरिएका विभिन्न सर्वेक्षणहरुले ट्रम्प पराजित हुने संकेतसमेत गरेका छन्। यहीबीचमा ट्रम्पलाई झड्का दिने गरी एक समाचार फैलिएको छ। ट्रम्पले भनेको एक कुराले उनलाई दोस्रो पटक राष्ट्रपति बन्नबाट रोक्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन्।
समाचारअनुसार ट्रम्पले युद्धमा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘पराजित व्यक्ति र मुर्ख’ भनेका थिए। उनको यो भनाईको अमेरिकामा निकै आलोचना भइरहेको बीबीसीले उल्लेख गरेको छ। द अटलांटिस पत्रिकारले हालै ट्रम्पको सो भनाईबारे समाचार प्रकाशित गरेको थियो। सो विषयमा अमेरिकी समाचार एजेन्सी एसोसियट प्रेस (एपी)ले पनि कभरेज गरेको र फक्स न्यूजले पनि समाचार प्रकाशित गरेको जनाइएको छ।
समाचारअनुसार २०१८ मा फ्रान्स भ्रमणमा रहँदा ट्रम्पले युद्धमा मारिएका अमेरिकी सैनिकको स्मारकमा जाने कार्यक्रम रद्द गरिदिएका थिए। उनले त्यतिबेला पराजित र मुर्खहरुको सम्मानमा जानुनपर्ने भनेको बताइएको छ। समाचार अनुसार उनले पानी परेको र त्यसले आफ्नो कपाल बिग्रनेसमेत बताएको भनेर समाचारहरु प्रकाशित भएका छन्।
राष्ट्रपति पदमा निर्वाचित हुन ट्रम्पलाई युद्धमा ज्यान गुमाएका अमेरिकी सैनिकका घरपरिवारको मत आवश्यक पर्छ। र उनको यो भनाईबाट उनीहरु निकै चिढिएको बताइएको छ। उनका प्रतिष्पर्धी जो बाइडेनले पनि ट्रम्प अमेरिकाको नेतृत्व गर्न अनफिट रहेको बताएका छन्।
तर, व्हाइट हाउसले भने यो समाचारलाई फेक न्यूज भनेको छ।







डिसी नेपाल







Facebook Comment