कोरोना संक्रमितको संख्यामा भारतले ब्राजिललाई उछिन्यो

डिसी नेपाल
२० भदौ २०७७ २३:०१

काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरस महामारीमा सबैभन्दा धेरै संक्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा उक्लिएको छ। शनिबार उसले ब्राजिललाई उछिनेको हो। भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार साँझसम्म भारतमा ४० लाख ९६ हजार ६९० जना संक्रमित भएका छन्। ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना संक्रमित छन्।

भारतमा हालका दिनहरुमा दैनिक ८० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन्। भारतमा कोरोनाका कारण हालसम्म ७० हजार ५० सयको मृत्यु भएको छ भने ब्राजिलमा हालसम्म १ लाख २५ हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ।

कोरोना महामारीको पछिल्लो केन्द्रविन्दु भारत बन्दै गएको छ। कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीको पहिलो नम्बरमा अमेरिका छ। अमेरिकामा हालसम्म ६२ लाखभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ८८ हजारभन्दा धेरैको मृत्यु भएको छ।

गत जनवरीमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाले चीनपछि युरोपलाई आफ्नो चपेटामा लिएको थियो। चीनपछि कोरोनाको केन्द्रबिन्दु युरोप बनेको थियो। स्पेन, इटाली र बेलायत निकै प्रधाभित भएका थिए। त्यसपछि सँयुक्त राज्य अमेरिका र ब्राजिल निकै प्रभावित भए।

अब दक्षिण एशियामा कोरोनाको केन्द्रबिन्दु बन्ने देखिएको छ। जनसंख्याका हिसाबले विश्वको दोस्रो ठूलो मुलुक भारतमा हालका दिनहरुमा दैनिक ८० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन्। अमेरिकामा ६० हजारको आसपासमा संक्रमित थपिने गरेका छन्। युरोपमा संक्रमितको संख्या घट्दोक्रममा छ। तर, भारतलगायत दक्षिण एशियाली मुलुकमा भने कोरोनाको संक्रमण बढ्दो देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.