रासस वरिष्ठ समाचारदाता कार्कीमाथि सांघातिक आक्रमण

डिसी नेपाल
२१ भदौ २०७७ १८:५३

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आज बनेपामा साङ्घातिक आक्रमण भएको छ । बनेपा नगरपालिका वडा नं. ८ बसपार्कमा एक हार्डवेयर पसलमा सामान किनिरहेका बेला सूर्यविनायक नगरपालिका वडा नं. १० का उद्धव कार्कीले एक्कासी मुक्का हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

पीडित कार्कीले आक्रमण गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा ठाडो निवेदन दिनुभएको छ । पीडितको निवेदनका आधारमा आक्रमण गर्ने उद्धवलाई प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । आक्रमण गर्ने व्यक्ति काभ्रेपलाञ्चोकको साँंगास्थित नेपाल प्रहरी स्कूलका शिक्षकसमेत हुन् ।

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गरी कानूनी कारवाही गर्न माग गरेको छ । घटनाको भत्र्सनाका साथ महासङ्घले दोषीमाथि कडा कारवाहीको माग गर्दै घाइते कार्कीको तत्काल उपचार र क्षतिपूर्तिसमेत सम्बन्धित व्यक्तिबाट भराइदिन प्रशासनसमक्ष माग गरेको छ । यसैबीच नेपाल प्रेस युनियन जिल्ला शाखाले विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

महासङ्घ केन्द्रद्वारा निन्दा

नेपाल पत्रकार महासङ्घले राससका वरिष्ठ समाचारदाता कार्कीमाथि आज भएको भौतिक आक्रमणप्रति निन्दा गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी कुटपिट गरी घाइते बनाएको घटनाप्रति निन्दा गरेको हो ।

महासङ्घले पत्रकारलाई त्रसित बनाउने आपराधिक कार्यमा संलग्न कार्कीमाथि कानूनी कारवाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्बाधरुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ । साथै, महासङ्घले घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

आक्रमणप्रति युनियनद्वारा निन्दा

यस्तै उक्त आक्रमणप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । आक्रमणकारी कार्की बनेपा नगरपालिका वडा नं १४ साँगास्थित नेपाल प्रहरी विद्यालयमा नेपाली शिक्षक पदमा कार्यरत रहेको युनियन शाखा अध्यक्ष मोहिनी मिश्र रिसालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.