कम्बोडियामा विद्यालयहरु पुनः खुल्न थाले
कम्बोडिया (रासस/एएनआई)। कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् ।
सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् ।
शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए।
पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उनले बताए। सो निर्देशिका स्वास्थ्य मन्त्रालयले तयार पारेको हो ।
निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने व्यवस्थाहरु समावेश गरिएको छ ।
सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटरको मापदण्ड बनाइएको पनि निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यसैगरी कुनै पनि विद्यार्थी तथा शिक्षकमा ३७।५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा उनीहरुलाई विद्यालयमा प्रवेश गर्न नदिइने भएको छ ।
‘कुनै पनि कक्षाकोठामा २० देखि २५ भन्दा बढी विद्यार्थी राखिने छैन,’ मन्त्री नारोनले भने। उनले विद्यालयले त्यही अनुसार व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारे।
मन्त्री नारोनका अनुसार हरेक हप्तामा दुई वा तीन दिन मात्रै विद्यालयमा उपस्थित हुने र अरु दिन घरबाटै पढ्ने व्यवस्था गरिएको छ ।
कम्बोडियालाई कोरोनाभाइरसको महामारी रोक्न सफल देशका रुपमा लिइएको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा अहिलेसम्म कोरोनाका कारण २७४ जना सङक्रमित भएका छन् ।
कूल सङ्क्रमितमध्ये २७२ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरिएको छैन ।







डिसी नेपाल








Facebook Comment