अमेरिकाले हजारौं चिनियाँ विद्यार्थीको भिसा रद्द गरिदियो

डिसी नेपाल
२५ भदौ २०७७ १०:२२

काठमाडौं। अमेरिकाले अचानक चीनविरुद्ध निकै कडा कदम चालेको छ । ट्रम्प प्रशासनले हजारौ चिनियाँ विद्यार्थीहरुको भिसा रद्द गरिदिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यी विद्यार्थीहरु ग्रयाजुएट वा रिसर्चका विद्यार्थी हुन् । कार्यवाहक गृह मन्त्री चेड वोल्फले अमेरिकाले चीनको गुप्तचर विभाग वा पिपुल्स लिबरेसन आर्मीसँग सम्बद्ध विद्याथी र अनुसन्धानकर्ताको भिसा रद्द गर्ने महिनौं पुरानो प्रस्तावमाथि विचार गर्दै यो निर्णय गरिएको बताएका छन् । उनीहरुले जासुसी र बौद्धिक सम्पत्ति चोरी जस्ता खतरा उत्पन्न गराउने उनले बताए ।

चेड वोल्फले एक पटक फेरि अन्यायपूर्ण व्यापारिक व्यवहार, औद्योगिक जासुसी र कोरोनाभाइरस रिसर्च चोरीको आरोप लगाउँदै चीनले अमेरिकाले विद्यार्थीहरुलाई दिएको भिसाको दुरुपयोग गरिरहेको बताए । उनले चीनले अमेरिकी शिक्षाको पनि गलत प्रयोग गरेको आरोप पनि लगाए । उनले अमेरिकाले चीनले उत्पादन गरेका सामानमा पनि रोक लगाउने तयारी गरिरहेको बताएका छन् । चिनियाँ सामानमा प्रतिबन्ध लगाउनुको उद्देश्य शोषणमा परेका मजदुरले बनाएका सामान अमेरिका आउन नदिनु रहेको उनले बताए ।

उनले चीनले कसैको शोषण गर्न नहुने र प्रत्येक मानिस र उसको गरिमाको सम्मान गर्नुपर्ने बताए । अमेरिकाले चीनमाथि झिजियांग प्रान्तमा रहेका मुस्लिमहरुमाथि शोषणको आरोप लगाएको छ । एक अमेरिकी प्रवक्ताले बताएअनुसार २९ मेमा अमेरिकी राष्ट्रपतिले गरेको घोषणाको नतिजास्वरुप यो निर्णय गरिएको हो किनकि चीनले हङकङमा लोकतन्त्र समाप्त पार्ने प्रयास गरिरहेको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हङकङमा चीनको राष्ट्रिय सुरक्षा कानुन लागू गरिएपछि अब हङकङसँग चीनसँग जस्तै व्यवहार गरिने र उसलाई दिइने विशेष आर्थिक छुट समाप्त गरिने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.