पक्राउ परेका हङकङका १२ जना अभियानकर्मीलाई चीनले ‘पृथकतावादी’ भन्यो
काठमाडौं। पक्राउ परेका १२ जना हङकङका अधिकारकर्मीलाई हङकङका अधिकारीले आफ्ना कानुन व्यवसायीलाई भेट्न नदिएको विषयमा अमेरिकाले आपत्ति जनाएपछि चीनले ती १२ जना अधिकारकर्मीलाई ‘पृथकतावादी’ घोषणा गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार बेइजिङको विदेश मन्त्रालयले ती युवाहरुलाई ‘चीनबाट हङकङलाई टुक्र्याउन चाहने तत्व’ ठहर गरेको छ । यीमध्ये केही युवा गत वर्षको सरकारविरोधी प्रदर्शनसँग पनि सम्बन्धित छन् ।
‘उनीहरु आपराधिक हिरासतको अनिवार्य प्रावधान अनुसार राखिएका छन् । मुद्दाको अनुसन्धान भइरहेको छ । सार्वजनिक सुरक्षा अधिकारीहरुले कानुनअनुसार उनीहरुको कानुनी अधिकारको रक्षा गर्नेछन्’ शेनझेन पब्लिक सेक्युरिटी ब्यूरोको येन्तियान कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा पक्राउ परेका ११ पुरुष र १ महिला रहेको र उनीहरुको उमेर १६ वर्षदेखि ३३ वर्षसम्म रहेको पुष्टि गरिएको छ ।
पक्राउ परेकाका परिवारले भने उनीहरुका कानुन व्यवसायीलाई भेट्न नदिइएको बताएका छन् । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले एक ट्वीटमा पक्राउ परेका १२ जना प्रजातान्त्रिक अभियन्ता नभएको बरु हङकङलाई चीनबाट अलग गर्न चाहने तत्व भएको भनेकी छिन् । पक्राउ परेका युवाका परिवारको दावीपछि अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले सेप्टेम्बर ११ मा पक्राउ परेकाहरुको विषयमा अमेरिका चिन्तित रहेको बताएका थिए ।







डिसी नेपाल








Facebook Comment