जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

डिसी नेपाल
३१ भदौ २०७७ १४:०५

टाेकियाे। जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।  जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उहाँले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन्।

किसानको छोरा सुगा अहिले ७१ बर्षको भए। उनी सन् १९९१ मा प्रधानमन्त्री बन्नेका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुनु भएको छ।
प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सँधै प्रतिबद्ध रहेको बताएका छन्। “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उनले भने।

उनले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन्। त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे।

उनको मन्त्रिपरिषद्मा पूर्व अर्थ मन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना देखिएको छ। सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ।

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहेका सुगालाई यसअघि गत सोमबार उनी पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो।
सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेबारी निर्वाह गरेका थिए।

गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए। उनीसँग प्रतिश्पर्धा गरेका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए।

निवर्तमान प्रधानमन्त्री आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए। उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री  भएका थिए।

त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउँदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए। त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएका थिए।

जापानमा सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका ६५ बर्षीय आवेले आफ्नो कार्यकाल अझै झण्डै एक बर्ष बाँकी रहेकै बेलामा राजीनामा दिएका हुन्। उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेका थिए।  जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.