चीनको लागि जासुसी गरेको आरोप लागेका नेपालीलाई ७ दिनका लागि हिरासतमा पठाइयो

डिसी नेपाल
६ असोज २०७७ ९:५७

नयाँ दिल्ली। दिल्ली हाइकोर्टले चीनको लागि जासुसी गरेको आरोप लागेका नेपाली शेर सिंहलाई ७ दिनका लागि हिरासतमा पठाएको छ । उनीसँगै स्वतन्त्र पत्रकार राजीव शर्मा र चिनियाँ महिला किंग शीलाई पनि ७ दिनका लागि पुलिस हिरासतमा पठाइएको हिन्दूस्तान टाइम्सले जनाएको छ । राजीज शर्मामाथि भारतको सुरक्षा र सेनासँग सम्बन्धित दस्तावेज चीनालई दिएको आरोप छ । चिनियाँ महिला किंग शीले शर्मालाई यसवापत पैसा दिएको र शेर सिंह किंग शीका सहयोगी भएको आरोप लगाइएको छ ।

सोमबार तीनै जनालाई अदालत पेश गरिएको थियो र पुलिसले तीनै जनाको हिरासत अवधि बढाउन माग गरेको थियो । पुलिसले अदालतमा आरोपको अनुसन्धानका लागि उनीहरुलाई एक अर्काको अगाडि राखेर सोधपुछ गर्नुपर्ने तर्क गरेको थियो । शर्मालाई १४ सेप्टेम्बरमा पक्राउ गरिएको थियो । पुलिसका अनुसार शर्मालाई फर्जी (शेल) कम्पनीमार्फत किंग शीले ठूलो रकम भुक्तानी गरेकी थिइन् । यो काममा शेर सिंह किंग शीका सहयोगी थिए । दिल्ली पुलिसको विशेष सेलले शर्मासँगबाट सुरक्षासम्बन्धी संवेदनशील दस्तावेज पाइएको दावी गरेको छ ।

शर्मामाथि सरकारी गोपनीयता कानुन अन्तर्गत मुद्दा चलाइएको छ । शर्माका वकिलले भने उनीमाथि लगाइएको आरोप गलत भएको बताएका छन् । अधिवक्ता अदिश अग्रवालले भने ‘हामी यो कुरालाई अस्वीकार गरिरहेका छैनौं कि उहाँले चीनको समाचार संस्थाको लागि काम गर्नुहुन्थ्यो तर पुलिसले उहाँमाथि लगाएका आरोप निराधार हुन् ।’ अधिवक्ता अग्रवालका अनुसार पुलिसले राजीव शर्माको घरको खानतलासी गर्दा कुनै प्रमाण नपाएको हुँदाहुँदै पनि उनलाई फसाउने प्रयास गरिरहेको छ ।

अग्रवालले अगाडि भने ‘जुन समय पुलिसले राजीव शर्मालाई पक्राउ गरेको थियो त्यही समय मिडियालाई जानकारी दिन सकिन्थ्यो तर यस्तो गरिएन । यो केसमा रक्षा मन्त्रालयका कुनै पनि अधिकारीसँग सोधपुछ गरिएको छैन । राजीव शर्मासँग भेटिएको भनिएका दस्तावेज उनले अरु कसैबाट पाएका होलान् नकि उनले घरमा छापे होलान् ।’ अग्रवालका अनुसार शर्मालाई गिरफ्तार गरेपछि उनको परिवारलाई उनीसँग जान दिइएन र उनलाई किन गिरफ्तार गरियो भन्ने पनि बताइएन । एफआइआरको कपी पनि अनलाइन पाइएन । उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालत उपस्थित गराइँदा पनि उनलाई कुनै वकिल उपलब्ध गराइएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.